२१ भदौ २०८३, आइतबार | September 6, 2026

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी



ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत कटौतीबाट जोगिन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन थालेका छन् । तर, सौर्य प्यानल, ब्याट्री र इन्भर्टर जडानको उच्च लागतका कारण अधिकांश परिवारका लागि यो विकल्प अझै पहुँचबाहिर छ ।

राजधानी खार्तुम नजिकैको ओम्दुरमानमा तीन छोराछोरीसँग बस्दै आएकी ३१ वर्षीया गृहिणी रान्दा अल-मन्सुरले करिब एक वर्षदेखि घरको छतमा जडान गरिएको सौर्य प्रणाली प्रयोग गर्दै आएकी छिन ।

“हामी निकै कष्ट भोगिरहेका छौँ”, उनले भनिन, “बिहान विद्यालय पुग्दा बिजुली हुँदैन, त्यसैले बालबालिकाहरू घर फर्कन बाध्य हुन्छन् । घरमा पनि बिजुली हुँदैन । यस्तो उच्च तापक्रममा उनीहरूलाई पढ्न निकै गाह्रो हुन्छ ।”

सुडानी सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस ९आरएसएफ० बीच सन् २०२३ अप्रिलदेखि जारी युद्धले देशको कमजोर विद्युत पूर्वाधारलाई थप क्षति पु¥याएको छ ।

यस युद्धमा कम्तीमा ५९ हजार मानिसको मृत्यु भएको अनुमान छ भने करिब एक करोड ३० लाख मानिस विस्थापित भएका छन् । सहायता समूहहरूले वास्तविक मृतक सङ्ख्या अझ बढी हुन सक्ने बताएका छन् ।

विद्युत उत्पादनमा ठूलो गिरावट

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का अनुसार युद्धका कारण सुडानको विद्युत प्रणालीमा भएको क्षति करिब ८८३ अर्ब अमेरिकी डलर बराबरको छ ।

विद्युत विभागका अधिकारीहरूका अनुसार युद्धअघि करिब चार हजार ४०० मेगावाट रहेको विद्युत उत्पादन क्षमता अहिले घटेर करिब एक हजार १०० मेगावाटमा सीमित भएको छ । धेरै विद्युत केन्द्र आरएसएफले प्रहार गरेका ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएका छन् ।

युद्धका कारण विद्युत क्षेत्रका दक्ष जनशक्तिको पनि ठूलो कमी भएको छ । अधिकारीहरूका अनुसार देशका करिब आधा दक्ष विद्युत इन्जिनियर तथा प्राविधिक सन् २०२३ यता देश छाडिसकेका छन् ।फलस्वरूप, हालैका महिनाहरूमा सुडानका कतिपय क्षेत्रमा दैनिक १६ घण्टासम्म विद्युत कटौती हुने गरेको छ ।

सौर्य ऊर्जाको माग बढ्दो

विद्युत सङ्कट गहिरिँदै गएपछि राजधानीका सडकमा सौर्य प्यानल, ब्याट्री र इन्भर्टर बिक्री गर्ने कम्पनीका विज्ञापन तथा होर्डिङ बोर्ड बढेका छन् ।

खार्तुममा सौर्य ऊर्जा प्रणालीको व्यवसाय सञ्चालन गर्ने मोहे एडिन अबु-बर्कका अनुसार कम आय भएका परिवारका लागि सौर्य प्रणाली जडान गर्नु ठूलो आर्थिक बोझ भए पनि धेरैका लागि यो आवश्यक विकल्प बनेको छ ।

उनका अनुसार सामान्य घरका लागि करिब दश किलोवाट क्षमताको सौर्य प्रणाली जडान गर्न करिब पाँच हजार डलर खर्च लाग्न सक्छ ।

“कम आय भएको परिवारका लागि यो ठूलो त्याग हो”, अबु-बर्कले भनिन, “तर यो अपरिहार्य विकल्प पनि बनेको छ ।” तर, सबै परिवारले उक्त रकम जुटाउन सक्दैनन् । साउदी अरबमा कार्यरत श्रीमान्ले पठाउने रकमबाट घर खर्च चलाउँदै आएकी अल-मन्सुरले आफूहरूले सौर्य ऊर्जा रोजे पनि सुडानका सबै परिवारले यस्तो प्रणाली जडान गर्न नसक्ने बताईन ।

विद्युत सङ्कटको असर घरायसी जीवनमा मात्र सीमित छैन । स्वास्थ्य क्षेत्रमा समेत यसको गम्भीर प्रभाव परेको छ । ४३ वर्षीया सरकारी कर्मचारी तथा मधुमेहकी बिरामी मनहेल मदनीलाई इन्सुलिन सुरक्षित राख्न निरन्तर विद्युत आवश्यक पर्छ । तर, बारम्बार हुने विद्युत कटौतीका कारण उनले औषधि बिग्रिनुएपछि पटक-पटक फाल्नुपरेको बताईन ।

“हरेक तीन-चार दिनमा गर्मी र विद्युत कटौतीका कारण बिग्रिएको इन्सुलिनको सम्पूर्ण स्टक फाल्न बाध्य हुन्छु”, उनले भनिन ।

ओम्दुरमानमा आमा र बहिनीसँग दुई शयनकक्षको घरमा बस्ने मदनीका लागि गर्मीबाट बच्नु पनि चुनौतीपूर्ण बनेको छ । विद्युत नहुँदा उनीहरू घरभित्रको चर्को गर्मी छल्न आँगनमा सुत्ने गर्छन् ।

उनका अनुसार धेरै फार्मेसीले औषधि भण्डारणका लागि आवश्यक सौर्य प्रणाली जडान गर्न सक्दैनन् । यसले अत्यावश्यक औषधिको उपलब्धतामा समेत असर परेको छ ।

सुडान डाक्टरहरूको नेटवर्कले पनि लगातार विद्युत कटौतीका कारण अस्पतालमा उपचाररत बिरामी प्रभावित हुन सक्ने चेतावनी दिएको छ । विशेषगरी निरन्तर उपचार र उपकरणको आवश्यकता पर्ने मिर्गौलाका बिरामी जोखिममा रहेको उसले जनाएको छ ।

विश्व बैङ्कका अनुसार सुडानको कम्तीमा ३० प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच छैन, जसको सबैभन्दा ठूलो असर ग्रामीण क्षेत्रमा परेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार वर्षमा चार हजार घण्टाभन्दा बढी घाम लाग्ने भएकाले सुडानमा सौर्य ऊर्जा उत्पादनको ठूलो सम्भावना छ । तर, आयातित सौर्य प्रणालीको उच्च प्रारम्भिक लागत र स्थानीय मुद्राको निरन्तर अवमूल्यनले सर्वसाधारणका लागि सौर्य ऊर्जामा सङ्क्रमण कठिन बनाएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  १ : ०८ बजे

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि