काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको छ । पार्टी कार्यालय बीपी स्मृति भवन, सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकले केन्द्रीय महाधिवेशनको निर्धारित मिति प्रभावित नहुने गरी वडा, पालिका हुँदै प्रदेश तहसम्मका अधिवेशनको नयाँ कार्यतालिका तय गर्ने तयारी गरेको छ । स्रोतका अनुसार वडा अधिवेशन कम्तीमा एक साता पछि सार्ने तयारी भएको छ ।
पार्टीभित्र आगामी महाधिवेशनमा सबै पक्षलाई समेट्ने गरी सहमति जुटाउने प्रयास जारी रहेकाले निर्वाचन समितिले पनि अधिवेशन कार्यतालिका समायोजनमा अधिकतम लचकता अपनाउने भएको छ ।
कांग्रेसभित्र जारी संवाद र सहमतिको प्रयास मंगलबार दिउँसोसम्म जारी रहने बताइएको छ । त्यसपछि निर्वाचन समितिले तल्ला तहका अधिवेशनको नयाँ मिति तय गर्ने तयारी गरेको हो ।
नयाँ कार्यतालिकाका कारण वडा, पालिका र प्रदेश तहका अधिवेशनको मिति परिवर्तन भए पनि केन्द्रीय महाधिवेशनको निर्धारित मितिमा भने असर नपर्ने गरी कार्यतालिका मिलाउने तयारी भइरहेको छ ।
निर्वाचन समितिको बैठकले पार्टीभित्रको पछिल्लो सहमति र छलफललाई समेत ध्यानमा राखेर अधिवेशनका बाँकी प्रक्रिया अघि बढाउने बताइएको छ ।
















प्रतिक्रिया