२४ भदौ २०८३, बुधबार | September 9, 2026

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट तथा आगजनीका घटनाको निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन् ।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, घाइते तथा प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले जेनजी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न सामाजिक सञ्जाल प्रेरित आन्दोलन भएको बताएका छन् । तर युवाहरूको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको र त्यसपछि संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरेको उनको आरोप छ ।

प्रचण्डले भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंस भएको उल्लेख गरेका छन् ।

आन्दोलन हिंसात्मक बन्न थालेपछि वास्तविक जेनजी अभियन्ताहरूले नै ‘घुसपैठ भयो’ र ‘घर फर्कौं’ भनेको तथ्य महत्वपूर्ण रहेको उनले बताएका छन् । युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्यलाई एउटै विषयका रूपमा हेर्न नहुने उनको भनाइ छ ।

‘प्रतिक्रान्तिकारी विध्वंस’ले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित गरेको दाबी गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता तथा ऐतिहासिक र पुरातात्त्विक सम्पदामाथिको विध्वंसले समेत उक्त दिनलाई थप गम्भीर बनाएको बताएका छन् ।

आफ्नो पार्टी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएदेखि नै अभिव्यक्ति स्वतन्त्रता र जनताको लोकतान्त्रिक अधिकारको पक्षमा स्पष्ट रहेको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढाइरहेको अवस्थामा हठात् सरकारबाट हटाइएको बताएका छन् ।

‘हामी न गोली चलाउने पक्षका थियौँ, न सिंहदरबार जलाउने’ भन्दै उनले जेनजी विद्रोहका नाममा आफ्नो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने बताएका छन् ।

उनले आन्दोलनका क्रममा को दोषी थियो, आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, कसले हिंसा तथा लुटपाट मच्चायो र त्यसबाट लाभ कसले उठायो भन्ने प्रश्नको तथ्यपूर्ण जवाफ खोजिनुपर्ने बताएका छन् । दोषी जोसुकै भए पनि राजनीतिक पहुँच वा शक्तिको आधारमा उन्मुक्ति दिन नहुने उनको भनाइ छ ।

प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट, तोडफोड र आगजनी जारी रहनु, संगठित समूह परिचालन भएको देखिनु तथा प्रज्वलनशील पदार्थ प्रयोगलगायतका घटनाले प्रकरणका पछाडि गम्भीर प्रश्नहरू रहेको उनले बताएका छन् । त्यसपछि भएका संसद् विघटन, गैरदलीय सरकार गठन, निर्वाचन घोषणा तथा राज्यका विभिन्न निर्णयले समेत घटनाको समग्र सत्य निरूपणका लागि थप अनुसन्धान आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडबारे तयार पारेको प्रतिवेदनले पनि घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको प्रचण्डले बताएका छन् । आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले प्रतिवेदनमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

‘जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ?’

प्रचण्डले जेनजी आन्दोलनको एक वर्षपछि आन्दोलनले उठाएका मुद्दा र अपेक्षित परिवर्तन कहाँ पुगे भन्ने प्रश्न पनि गरेका छन् ।

भ्रष्टाचार अन्त्य, सुशासन स्थापना, रोजगारी तथा अवसरको विस्तार र राज्यलाई जनताप्रति उत्तरदायी बनाउने अपेक्षा गरेका नागरिक फेरि निराश भएको उनले बताएका छन् । महँगी बढेको, अर्थतन्त्र शिथिल रहेको, व्यवसायी निराश भएको, रोजगारीका अवसर पर्याप्त नभएको र विदेशिने युवाको संख्या बढिरहेको उनको दाबी छ ।

त्यस्तै सार्वजनिक ऋण बढिरहेको, जनतामाथि करको बोझ थपिएको तथा विपद्का समयमा समेत नागरिकले समयमै उद्धार, राहत र पुनःस्थापना पाउन नसकेको उनले बताएका छन् ।

नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्ने प्रस्ताव अघि सारेको भन्दै प्रचण्डले त्यसप्रति पनि आपत्ति जनाएका छन् । संविधान संशोधन समयको आवश्यकता हुन सक्ने भए पनि संविधानको मूल आत्मा र नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि समाप्त गर्ने साधन बन्न नसक्ने उनको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ता नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै उनले ती उपलब्धि कमजोर पार्ने वा लोकतान्त्रिक संस्थालाई निष्प्रभावी बनाउने कुनै पनि प्रयासको प्रतिवाद गर्ने बताएका छन् ।

जेनजी आन्दोलनले युवाको आवाज दबाएर होइन, सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुने सन्देश दिएको प्रचण्डले बताएका छन् । लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाएको उनको भनाइ छ ।

उनले यसलाई ‘लोकतन्त्रको सर्भिसिङ’ का रूपमा व्याख्या गरेका छन् ।

प्रचण्डले पार्टीका विगतका अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै प्रतिगामी, निरंकुश र जनविरोधी प्रवृत्तिविरुद्ध शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई एकताबद्ध हुन उनले अपिल गरेका छन् ।

 

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ८ : ४९ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४