सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ । गत याममा उद्योगलाई उखु बेचेका किसान छ महिना भइसक्दासम्म पैसा नपाएपछि समस्यामा परेका हुन् । यहाँको धन्कौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले गत याममा मा उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन ।
धन्कौल गाउँपालिका–३ निवासी कैलाश पासवानले उद्योगलाई दिएको ३०० क्विन्टल उखुको आंशिक रकममात्र पाएको बताउनुभयो । उहाँले ५० कट्ठा खेतमा उखु लगाएका छन् । यसमध्ये आफ्नो २० कट्ठा र बाँकी ठेक्कामा लिएको हो । उखु बेचेको पैसा समयमा पाए समयमै ठेक्का बुझाउने उनलाई हतारो छ । कबोल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनुपर्ने चिन्ता उनले व्यक्त गरे।
“घरको सबै खर्च खेतीबाट आएको पैसाले पुर्याउनु पर्छ”, उनलेभन्नुभयो, “बालबच्चाको लालनपालन, शिक्षादिक्षा, चाडपर्व सबै यही उखु बेचेर आएको पैसाबाट टार्नु छ । तर, उद्योगले हरेक वर्ष झुटो आशा देखाउँदै दुःख दिने गरेको छ ।” केही समय पहिलामात्र छोरीको विवाह गर्नुभएका कैलाशले गर्जो टार्न उद्योगले पैसा नदिएपछि साहुमहाजनसँग सयकडा तीनले ब्याजमा ऋण लिनुपरेको दुःखेसो पोखे ।
उनले उद्योगबाट अझै ५६ हजार बढी रकम पाउन बाँकी छ । पाउने रकमको टुङ्गो नहुँदा आफूहरू उखुखेतीबाट निरास बनेको उनले बताए। उद्योगले पैसा दिनेबेला दिएको दुःख सम्झेर ४०० क्विन्टल उखु नगदमा बेचेको उनको भनाइ छ । नगदमा बिचौलियाले रु ३५ देखि ४० कम दाममा किनेर आफ्नो नाममा उद्योगलाई बिक्री गर्छन् । यसबाट किसानले पाउने अनुदानबापतको रकमसमेत दुरुपयोग हुँदै आएको छ ।
धन्कौल –२ का पाँचु सहनीको पनि आयआर्जनको एकमात्र उपाय खेतीपाती हो । उनी पनि ठेक्कामा लिएको खेतमा उखु रोप्ने र उद्योगलाई बेच्ने गर्छन । तर, सुरुमा स्थानीयलाई सुविधा पुग्छ भनेर सञ्चालनमा आएको उद्योगले बारम्बार ठगेको उनको गुनासो छ । यस उद्योगले उहाँको २०७४ सालमा बिक्री गरेको उखुको केही भुक्तानी अझै दिएको छ्रैन । सोही समयमा उद्योग धरासायी बन्यो ।
सुरुका उद्योगपतिले उद्योग नै बेचिदिएपछि किसानले पाउनु दुःख पाएको उनी बताउँछन । “माग्न जाँदा २०७४ सालसम्मको भुक्तानी पुरानो मालिकले गर्ने हो भने, पछि विवरण फेला परेन भनेर दिँदै दिएन”, उनले भने । त्यसपछि आफूले रौतहट र सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु बेचेको उनको भनाइ छ । यस वर्ष उद्योगले मिलगेट क्षेत्र तोकेर अन्यत्र काँटा नराख्ने सहमति गरेपछि बाहिरको उद्योग आएन ।
















प्रतिक्रिया