काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति आफ्नो ध्यानकर्षण भएको जनाएकी छन् । उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन् ।
सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै मन्त्री मेहताले हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार,सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्ने उल्लेख गरेकी छन् । उनले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको बताएकी छन् ।
अस्पतालसँग स्पष्टीकरणसमेत माग गरिएको उनको भनाई छ। घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याइने प्रतिबद्धता जनाउँदै मन्त्री मेहताले छानबिनका क्रममा गल्ती वा लापरबाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख गरेकी छन् ।
‘स्वास्थ्य सेवामा नागरिकको विश्वास र अधिकारप्रति मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध छ।’ उनले भनेकी छन् ।
















प्रतिक्रिया