काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म पार्टीको छुट्टै १५औँ महाधिवेशन गर्ने भएको छ । सो पक्षले आज यहाँ पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई बेवास्ता गरेको भन्दै आगामी मङ्सिरमा १५औँ महाधिवेशन थाल्ने जनाएको हो ।
उक्त महाधिवेशन तयारी समितिका संयोजक प्रा डा शङ्शाक कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिए ।
संयोजक प्रा डा कोइरालाले भने, “पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न ।”
कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित समितिबाट आह्वान गरिएको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल गरे। डा. कोइरालाले भने, ‘असोज ३ गतेबाट विधि, प्रक्रिया मिची सुरु गर्ने भनिएको तथाकथित अधिवेशन/महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं।’
उनले पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुनेगरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे । पार्टीको संस्थापन पक्षले आइतबार मात्रै कार्यसम्पादन समितिको बैठकबाट निर्णय गरी आगामी असोज ३ गतेदेखि वडा अधिवेशन थाल्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो ।
















प्रतिक्रिया