काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।
आज विज्ञप्ति जारी गर्दै सभापति थापाले संविधान, कांग्रेसको विधान र प्रचलित कानुनअनुसार महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन्। पार्टीभित्र फरक मत र असमझदारी हुनु लोकतन्त्रमा स्वाभाविक भएको उल्लेख गर्दै उनले त्यस्ता विषय संवाद, विधि र पद्धतिमार्फत समाधान गर्नुपर्ने बताएका छन्।
थापाका अनुसार पार्टीले सबैलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने उद्देश्यले विभिन्न तहका नेता तथा सदस्यबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखेको छ। २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज रूपमा सहभागी गराउने निर्णय गरिएको उनले जानकारी दिएका छन्।
त्यस्तै, विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गर्ने निर्णय भदौ २८ गतेको कार्यसम्पादन समितिको बैठकले गरिसकेको उनले बताएका छन्। यससँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा सहभागी हुन सक्ने स्पष्ट गरिएको छ।
सभापति थापाले वडा तहदेखि केन्द्रसम्मको महाधिवेशन अभियानमा उच्च मनोबलका साथ सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका छन्। उनले महाधिवेशनबाट पार्टीलाई थप एकताबद्ध, गतिशील र राष्ट्रका चुनौती सामना गर्नसक्ने बलियो संगठनका रूपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ। थापाले पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैको सहभागिता सुनिश्चित गर्दै महाधिवेशन सम्पन्न गर्न अपिल गरेका छन्।
















प्रतिक्रिया