काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापका बिकी लामा र आषिश खड्का, सोलुखुम्बुका नुवाङ शेर्पा र पाशाङ शेर्पा, सिन्धुलीकी ज्योति मगर, दोलखाका नारायण खत्री, काठमाडौंका दिल लामा, काभ्रेका अशोक लामा, नुवाकोटका सञ्जय तामाङ, ललितपुरका सविनमान श्रेष्ठ तथा धनकुटाका सुदीप अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले क्यासिनोमा चेकजाँच गरेको थियो ।
प्रहरीले घटनास्थलबाट नौ थान मोबाइल, रु. ५० हजार अङ्कित आठ थान क्वाइन, रु. १० हजार अङ्कित १९ थान क्वाइन, रु. एक हजार अङ्कित ८८ थान क्वाइन र रु. एक सय अङ्कित पाँच थान क्वाइन बरामद गरेको छ ।
त्यसैगरी, रु. १० लाख ८५ हजार ६ सय नगदसमेत बरामद गरिएको प्रवक्ता थापाले जानकारी दिए ।
पक्राउ परेकाविरुद्ध जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया