२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्वपछि सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन्।

अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारप्रति जनआक्रोश बढ्दै गएको दाबी गर्दै विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग आन्दोलनका विषयमा निरन्तर छलफल भइरहेको बताए।

उनले सरकारमाथि सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनलगायतका समूह र आन्दोलनका सहयात्रीहरूमाथि दमन, ज्यादती र अत्याचार गरेको आरोप लगाए।

‘अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ,’ प्रचण्डले भने।

उनका अनुसार प्रतिपक्षी दलहरूलाई सदनभित्र समेत एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ। संसद्‌मा संयुक्त रूपमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले सडक आन्दोलनका लागि पनि व्यापक राजनीतिक तथा सामाजिक सहकार्य आवश्यक रहेको बताए।

प्रचण्डले आन्दोलनको तयारीका लागि विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरे।

‘म सबै नेता कमरेडहरूलाई स्पष्टसँग भन्न चाहन्छु, हामी त्यसको तयारीका लागि विभिन्न पार्टी, बुद्धिजीवी, नागरिक समाजसँग लगातार छलफलमा छौँ। र, सकारात्मक दिशामा चिजहरू अगाडि बढ्दैछन्,’ उनले भने।

नेपाल ठूला चाडपर्वको चरणमा प्रवेश गरेको उल्लेख गर्दै प्रचण्डले चाडपर्वको अवधिमै आन्दोलनको तयारीका कामलाई अघि बढाउने र त्यसपछि मुलुकको परिस्थितिको मूल्याङ्कन गरेर नयाँ आन्दोलन अघि बढाउने बताए।

‘चाडपर्वको यो अवधिभित्र पनि हामीले तयारीका कामलाई अगाडि बढाउँछौँ। चाडपर्वपछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ,’ उनले भने।

उनले प्रतिक्रान्तिलाई परास्त गर्दै आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सबैले नयाँ संकल्प गर्नुपर्ने बताए। त्यसका लागि जिम्मेवारीपूर्वक अघि बढ्दै फराकिलो राजनीतिक तथा सामाजिक आधार निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए।

‘तपाईं–हामी सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ। हामी अहिले त्यही प्रक्रियामा छौँ,’ प्रचण्डले भने।

प्रचण्डले आन्दोलनमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने भन्दै जिम्मेवारीपूर्वक ‘ठूलो छाती’ बनाएर सहकार्यको वातावरण निर्माण गर्न नेता–कार्यकर्तालाई आग्रहसमेत गरे।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ३ : २६ बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले