चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा क्षति पुगेको छ । नदीको कटानले सडक भासिएको, लेदो भरिएको, पहिरो झरेकोलगायत कारण लामो समय यो राजमार्ग पूर्ण सञ्चालन हुन सकेन ।
सडकको कृष्णभीरमा भदौ १४ गतेको बाढीले भासिएको सडक १८ दिनपछि सञ्चालनमा आएको छ । भदौ १० को बाढीको लेदोले सडक पुरिएपछि गल्छी क्षेत्रमा सडक सफा गर्न चार दिन लागेको थियो । मुग्लिनदेखि गल्छीसम्मको ६४ किलोमिटर सडक क्षेत्रको अधिकांश भाग त्रिशूली किनारमा पर्छ ।
आंशिक रूपमा सडक सञ्चालनमा आए यस सडकका ठाउँठाउँमा त्रिशूलीले खोतलेर सडकलाई ठूलो नोक्सान पुर्याएको छ । विस्तारको काम भइरहेको यस सडकको मुग्लिनदेखि मलेखु र मलेखुदेखि नौविसेसम्म दुई छुट्टाछुट्टै आयोजनाले विस्तारको काम गरिरहेका छन् । नौविसे–मुग्लिन आयोजनाको पश्चिम खण्डका इञ्जिनियर धीरज ढकालका अनुसार मुग्लिनदेखि मलेखुसम्मको ३९ किलोमिटर सडक क्षेत्रमा बाढीका कारण कटान हुँदा क्षति पुगेको छ । मुग्लिनबाट आठ किलोमिटर मलेखुतर्फको धारापानीमा २० मिटर हाराहारी सडक कटानका कारण जोखिममा पुगेको छ ।
सो ठाउँमा नदीतर्फ लगाइएको पर्खाल बगाएको छ । १७ किलोमिटर पर जवाङ खोलामा २० मिटर सडकको छेउ भासिएको छ । त्यस्तै २५ किलोमिटर पर कृष्णभीरमा भदौ १४ गते भासिएको सडक नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि पुनः सञ्चालनमा आएको छ ।
मुग्लिनबाटै ३६ किलोमिटर सितलबजारमा नदीले भित्तो काटेर ४० मिटर सडक भासिएको छ । यहाँ सडक एकतर्फी सञ्चालनमा छ । नेपाली सेनाले भित्तो ‘ब्लाष्टिङ’ गरेर फराकिलो गर्ने काम गरेको छ । चरौदीमा सडकको छेउमा कटान भएको छ । ढकालले नदीको बेग तीव्र भएको र सडक किनारमा पानी भएकाले राम्रोसँग हेर्न नसकिएको बताए । उनले भने, “कुन–कुन ठाउँमा क्षति पुगेको छ । हेर्ने काम भइरहेको छ ।” नदीको बहाव घटेपछि अन्य ठाउँको अवस्था थाहा हुने उनी बताउँछन् ।
नौविसे–मुग्लिन सडक आयोजनाको पूर्वीखण्डका इञ्जिनियर राजीव मानन्धरका अनुसार मलेखुबाट गल्छीसम्मको अधिकांश सडक त्रिशूली किनारमा छ । २५ किलोमिटर लामो सडकमा ठाउँठाउँमा सडक भासिएको छ । भदौ १० गते लेदोसहितको बाढीले सडकका ठाउँठाउँमा पुरेपछि १४ गते मात्र लेदो फालेर सडक सहज सञ्चालनमा ल्याइएको थियो । गल्छी क्षेत्रको १ दशमलव ५ किलोमिटर सडक लेदोले भरिएको थियो । यस्तै मलेखुबाट एक किलोमिटर गल्छीतर्फ परेवा भीरमा १०० मिटर जति सडक पूरै भासिएर भित्तो पट्टीबाट ट्र्याक खोलिएको छ ।
मलेखुबाट पाँच किलोमिटर पर चालिसेमा ६० मिटर सडक भासिएपछि एकतर्फी सञ्चालनमा छ । सो ठाउँमा सडक फराकिलो भएकाले सहज भए पनि ठूलो क्षति भएको उनी बताउँछन् । सोही सडकको मलेखुबाट ११ किलोमिटरको दूरीमा पर्ने पोखरे र बाँङ्गेमा झण्डै ८०० मिटर सडक लेदो भरिएको थियो । सडकको लेदो सफा गरिए पनि सडक छेउको कल्भर्ट, पर्खाललगायत ठूलो क्षति पुगेको छ । मलेखुबाट १२ किलोमिटर गल्छीतर्फ गलौदीमा कल्भर्ट र पर्खालमा क्षति पुगेको छ । त्यहाँ लेदोले सडक भरिएको थियो ।
सडकका ठाउँठाउँमा क्षति पुगेको र अध्ययन भइरहेको उनले बताए । मलेखुबाट गल्छीसम्मको सडकलाई पूर्ववत अवस्थामा फर्काउन रु ५० करोडभन्दा बढी खर्च हुने मानन्धरको अनुमान छ । सडकका विभिन्न ठाउँमा त्रिशूली नदी किनारमा नदीको बहाव नियन्त्रण गर्ने, कटान रोक्ने र तट सुरक्षित बनाउने काम गर्नुपर्ने भएको छ । कटान भएर भासिएका ठाउँमा भिरालोको स्थिरिकरण, बायो इञ्जिनियरीङ र रिभर ट्रेनिङ वर्कस गर्नुपर्ने उनीहरूको भनाइ छ । यो सडक हुँदै दैनिक १४ हजार सवारीसाधन आवतजावत गर्छन् । सवारी सञ्चालनमा अवरोध भएका ठाउँमा तत्काल काम गरिएको भए पनि अन्य ठाउँमा बिस्तृत अध्ययन गरेर काम गर्न लागिएको हो ।
















प्रतिक्रिया