काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जवाफदेही प्रशासन निर्माण गर्नुपर्ने बताएका हुन् ।
आम नागरिकमा विधिको शासन प्रत्याभूत गर्न जरुरी रहेको उल्लेख गर्दै उनले संविधानबाट प्राप्त अवसर र उपलब्धिको संरक्षण तथा संस्थागत गर्न सबै नेपालीबीच साझा सहमति आवश्यक रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले सुशासन र समृद्धितर्फ अगाडि बढ्न साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, “आम नागरिकमा विधिको शासन प्रत्याभूत गर्न जरुरी छ । साथै, संविधानबाट प्राप्त अवसर र उपलब्धिहरू संरक्षण तथा संस्थागत गर्न एवं सुशासन र समृद्धितर्फ अगाडि बढ्न हामी सम्पूर्ण नेपालीहरूको साझा सहमति आजको आवश्यकता हो ।”
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले संविधानले प्रत्याभूत गरेका सेवा-सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएका छन् ।
संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबै नेपालीलाई एकजुट हुन प्रेरणा दिने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
















प्रतिक्रिया