नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब ६ महिनादेखि बन्द भएको लिन्याक (लिनियर एक्सेलेरेटर) आजबाट सञ्चालनमा आएको छ । अस्पताल प्रशासनको विशेष आग्रहमा मेसिन सप्लाई गर्ने कम्पनीले प्राबिधिक पठाएर मेसिन सञ्चालनमा ल्याएको हो ।
विगत ६ महिनादेखि लिन्याक मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको थियो भने सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य भएका थिए । बन्द रहेका अत्याधुनिक लिनियर एक्सीलरेटर (Linear Accelerator – LINAC) र ब्रेकीथेरापी (Brachytherapy) मेसिन सञ्चालनमा आएको अस्पतालको रेडियोलोजि विभागका प्रमुख डा. मुकेश यादवले जानकारी दिए । सोमबारबाट रेडियो थेरापी र ब्रेकस्थेरापी सेवा नियमित सञ्चालन हुने डा. यादवले बताए ।
रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी प्रभावित भएका थिए । अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए तर मेसिन बिग्रेपछि उनीहरू भारतका बहराइच, लखनउ, दिल्लीलगायतका अस्पतालमा उपचारका लागि जान बाध्य भएका थिए । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो ।
मेसिन आपूर्ति गर्ने कम्पनीले बाँकी भुक्तानी नपाएको भन्दै मर्मत गर्न अस्वीकार गरेपछि रेडियोथेरापी सेवा अवरुद्ध हुन पुगेको थियो । अस्पताल प्रशासनको पहलमा सो मेसिनसहित ब्रेकीथेरापी मेसिनपनि सञ्चालनमा आएको हो ।
अस्पताल स्रोतका अनुसार खरिद सम्झौतामा उल्लेख भएको एचएस कोड (एचएस कोड) र कन्ट्री अफ ओरिजिनभन्दा फरक विवरण भएको मेसिन आपूर्ति गरिएकाले सप्लायर्सको बाँकी भुक्तानी रोकिएको छ। मेडि सोलुसनले सप्लाई गरेको नयाँ मेसिन खरिद लन्डनबाट सप्लाई दिने सम्झौता भएको तर भन्सार प्रज्ञापन पत्र र खरिद सम्झौतामा मेसिनको कन्ट्री अफ ओरिजिन र एचएस कोड फरक पाएपछि मेसिनको भुक्तानी हुन नसकेको हो । स्वास्थ्य मन्त्रालयले एक टिमले मेसिन जडान गर्ने र त्यसको प्रतिफल कस्तो दिन्छ त्यस आधारमा रकम भुक्तानी दिन सकिने प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो ।
अस्पतालमा २०७९ पुसमा ल्याइएको उक्त लिन्याक मेसिन खरिदसम्बन्धी विवादका कारण जडान भएको तीन महिनापछि मात्रै सञ्चालनमा आएको थियो। खरिद आदेश भन्दा फरक कागजातको मसिन आएपनि खरिद सम्झौता बमोजिमको भन्सारमा आइपुग्दा गर्नुपर्ने १० प्रतिशत रकम भुक्तानी गरिएपछि सो मेसिन खरिद प्रकरण विवादीत बन्दै आएको छ । तत्कालिन कार्यकारी निर्देशक डा. कृष्ण आचार्यले सो रकम भुक्तानी गरेका थिए । त्यसपछि अस्पतालमा पठाइएका तत्कालीन निर्देशक डा. प्रकाश प्रसाद साहले भुक्तानीको आश्वासन दिएपछि सप्लायर्सले प्राविधिक पठाएर मेसिन सञ्चालनमा ल्याएको थियो ।
अस्पताल प्रशासनको पत्रका आधारमा झण्डै २ वर्ष अघि मन्त्रालयबाट गठित छानबिन समितिले खरिद सम्झौता र भन्सार कागजातमा एचएस कोड तथा कन्ट्री अफ ओरिजिन फरक परेको स्वीकार गर्दै मेसिनको गुणस्तर सञ्चालनपछि मात्रै मूल्याङ्कन गर्न सकिने प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा मेसिन सञ्चालनमा आए पनि एचएस कोड र कन्ट्री अफ ओरिजिनसम्बन्धी विषयमा मन्त्रालयबाट निर्णय नहुँदा बाँकी भुक्तानी रोकिँदै आएको अस्पताल प्रशासनले बताउँदै आएको छ ।
अस्पतालका अनुसार रु. २७ करोडभन्दा बढी मूल्यमा खरिद सम्झौता भएको उक्त मेसिनको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ भने आठ लाख छ हजार अमेरिकी डलर भुक्तानी गर्न बाँकी छ ।
















प्रतिक्रिया