९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

चार दिने मौसम चेतावनी सार्वजनिक : ९ र १० गते भीषण वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौं । आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी असोज ९ गते शुक्रबार र १० गते शनिबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बिहीबार जारी गरेको चेतावनी तथा परामर्श नक्साअनुसार आगामी चार दिन देशभर मौसमी जोखिमको अवस्था फरक-फरक रहनेछ । बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश क्षेत्रमा वर्षाको जोखिम कम रहे पनि बागमती, गण्डकी, लुम्बिनी, मधेश र कोशी प्रदेशका धेरैजसो भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबारदेखि वर्षाको जोखिम थप बढ्ने महाशाखाले जनाएको छ । शुक्रबार पूर्वी तथा मध्य नेपालका अधिकांश क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका मध्य तथा हिमाली र पहाडी भूभागमा अति भारी वर्षाको उच्च जोखिम रहने पूर्वानुमान गरिएको छ ।

यस्तै, शनिबार वर्षाको जोखिम पश्चिमतर्फ सर्ने महाशाखाको अनुमान छ । शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा अति सतर्कता अपनाउनुपर्ने अवस्था रहनेछ । देशका बाँकी पश्चिमी तथा मध्य क्षेत्रमा समेत सतर्कता अपनाउनुपर्ने भए पनि पूर्वी भूभागमा भने वर्षाको प्रभाव क्रमशः घट्दै जाने अनुमान गरिएको छ ।

असोज ११ गते आइतबारदेखि भने मौसमी जोखिम क्रमशः कम हुँदै जाने महाशाखाले जनाएको छ । आइतबार पश्चिमी भूभागमा सामान्य सतर्कता अपनाउनुपर्ने भए पनि पूर्वी भूभागमा वर्षाको जोखिम तुलनात्मक रूपमा कम रहनेछ ।

अविरल तथा भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र भू-क्षय तथा तराई र शहरी क्षेत्रमा बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

विशेषगरी असोज ९ र १० गते यात्रा गर्दा मौसमी अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ९ : ४७ बजे

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज

काठमाडौं जोड्ने राजमार्ग बन्द : यातायात आवागमन ठप्प

काठमाडौं । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका