नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै बाँके प्रशासनले जोखिम न्यूनीकरणको पूर्व तयारी, प्रतिकार्य र उद्दारको तयारीलाई तिब्र पारेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय बाँके तथा सुरक्षा निकायले पूर्वतयारी कार्यलाई तीव्र पारेका हुन्।
विपद् न्यूनीकरणका लागि जिल्ला स्थित सरोकारवाला सरकारी कार्यालय प्रमुखहरुको बैठक गरेर जोखिम न्युनिकरणको पूर्व तयारी अगाडि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले जानकारी दिए । सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको कमाण्ड पोष्टलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको, प्रतिकार्य, उद्धार तथा जोखिमयुक्त क्षेत्रमा सूचना प्रवाह गरि सचेत बनाउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । जिल्ला प्रशासनले आजै विपदसँग सम्बन्धित कार्यालय तथा संस्थाहरुका विपद फोकल पर्शनहरुको बैठक बोलाईएको जनाउँदै उनले सम्भाब्य पूर्व तयारीलाई तिब्र पारिएको बताए । ‘सम्भावित जोखिमयुक्त क्षेत्रहरु खासगरि विगतदेखि बाढी आउँदा डुबान हुने स्थानहरुको पहिचान गरि जोखि न्युनिकरणको आवश्यक तयारी गरेका छौं ।’ उनले भने ।
जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति घटाउन तयारी अवस्थामा रहन सबै स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार पूर्वसूचनालाई ध्यानमा राख्दै ८ वटै स्थानीय तहलाई पूर्वतयारी र स्रोतसाधन व्यवस्थापनका लागि सूचीत गरिएको छ ।
यसैबिच, जिल्लास्थित सुरक्षा निकायहरूले विपद् व्यवस्थापनका लागि जनशक्ति तयारी अवस्थामा राखिएको जनाएका छन्। उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराइदिन सुरक्षा निकायले सम्बद्ध निकाय एवं स्थानीय तहहरूसँग आग्रह गरेका छन्।
















प्रतिक्रिया