काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ ।
नेपाल टेलिकमले असोज ८ गतेदेखि परेको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको जनाएको हो ।
कम्पनीका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भएको छ । साथै, विभिन्न स्थानमा अप्टिकल फाइबरमा क्षति पुगेका कारण सेवा सञ्चालनमा समस्या देखिएको टेलिकमले जनाएको छ ।
विद्युत् आपूर्तिमा भएको अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा पनि सेवा प्रभावित भएको कम्पनीको भनाइ छ ।
टेलिकमका अनुसार प्राविधिक रूपमा प्रणालीबाट गर्न सकिने मर्मतसम्भारका काम जारी छन् भने सम्भव भएका स्थानमा सेवाको मर्मतकार्य भइरहेको छ । मौसममा सुधार आएपछि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ ।
सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ । साथै, बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिमा समेत धैर्यता देखाएकोमा ग्राहकप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
















प्रतिक्रिया