१४ आश्विन २०८३, बुधबार | September 30, 2026

रारा मसला उद्योगमाथि गरिएको व्यवहारप्रति बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही उद्योग संघको आपत्ति



बुटवल । बुटवल-११ स्थित रारा मसला उद्योग सञ्चालनमा देखिएको अवरोध र विवादप्रति बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही उद्योग संघले आपत्ति जनाएका छन् । दुवै संघले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उद्योगसँग सम्बन्धित समस्या संवाद, सहकार्य र कानुनी प्रक्रियाबाट समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि कानुनी तथा संस्थागत प्रक्रिया हुँदाहुँदै उद्योगी–व्यवसायीमाथि दबाब सिर्जना गर्ने र हुलहुज्जत गर्ने गतिविधि स्वीकार्य नहुने जनाएको छ । स्थानीय बासिन्दाको विरोध तथा उजुरीपछि उद्योगको उत्पादन बन्द भएको र नियमनकारी निकायबाट समेत एकतर्फी दबाब सिर्जना भएको विषयमा संघले ध्यानाकर्षण भएको जनाएको हो ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा वि.सं. २०४६ सालदेखि स्वदेशमै मसलाजन्य वस्तु उत्पादन गर्दै आएको उद्योगले आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको उल्लेख छ । लामो समयदेखि सञ्चालनमा रहेको उद्योगलाई समस्या समाधानको अवसर दिनुको सट्टा दबाब सिर्जना गरिनु निजी क्षेत्रको लगानी र उद्यमशीलताका लागि चिन्ताको विषय भएको संघको भनाइ छ ।

संघले सम्मानित अदालतबाट अर्को आदेश नभएसम्म उद्योग सञ्चालन गर्न अनुमति प्राप्त भइसकेको उल्लेख गर्दै कानुन हातमा लिने वा उद्योगी–व्यवसायीको मनोबल कमजोर पार्ने गतिविधि नगर्न आग्रह गरेको छ ।

यसैगरी, रुपन्देही उद्योग संघले पनि रारा मसला उद्योगमाथि भइरहेका एकपक्षीय आरोप र गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगर्न र उद्योगीलाई हतोत्साहित नबनाउन सरोकारवालासँग आग्रह गरेको हो ।

रुपन्देही उद्योग संघका अनुसार संघका पूर्वकार्यसमिति सदस्य कृष्णलाल भुसालले वि.सं. २०४६ सालमा स्थापना गरेको उक्त उद्योग २०५५ सालदेखि सञ्चालनमा छ । उद्योगबाट धुलो प्रदूषण तथा कम्पन भएको भन्दै सांग्रिलापथका स्थानीय बासिन्दाले असन्तुष्टि जनाउँदै आएका छन् । टोल समिति, वडा कार्यालय, उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा घरेलु तथा साना उद्योग कार्यालयसम्म पुगेको विवाद अहिले अदालतमा विचाराधीन रहेको संघले जनाएको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा अभियन्ताका नाममा परिचय नखुलाई उद्योगमा प्रवेश गर्ने तथा नियामक निकायको स्वीकृतिबिना पत्रकार टोलीसहित अनुगमनको नाममा उद्योगीलाई हतोत्साहित बनाउने गतिविधि भइरहेको भन्दै रुपन्देही उद्योग संघले आपत्ति जनाएको छ ।

उद्योग संघका अनुसार बुटवल उपमहानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको टोलीसँगै संघले पनि उद्योगको अनुगमन गरी सुधारका लागि निर्देशन दिइसकेको छ । सोहीअनुसार सुधार प्रक्रिया अघि बढिरहेको अवस्थामा उद्योगलाई जबर्जस्ती बन्द गराउने दबाबले समस्या समाधान नहुने संघको भनाइ छ ।

उद्योग स्थापना हुँदा उक्त क्षेत्रमा बस्ती नरहेको र पछि मात्र घरहरू बनेको प्रसंग उल्लेख गर्दै संघले करोडौँ रुपैयाँ लगानी भएका स्वदेशी उद्योगलाई निरुत्साहित गर्ने गतिविधिले निजी क्षेत्रको लगानी र उद्यमशीलतामा नकारात्मक असर पार्न सक्ने जनाएको छ । उद्योगले कानुन र विधिविपरीत सञ्चालन गर्न नपाउने तथा स्थानीय बासिन्दाको अधिकार पनि हनन हुन नहुनेमा भने संघ स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।

यता, बुटवल उद्योग वाणिज्य संघले पनि उपमहानगरपालिकाको स्थलगत अनुगमनपछि उद्योगमा देखिएको धुलो प्रदूषण र कम्पनसम्बन्धी समस्या समाधानका लागि सुधारका प्रयास अघि बढिरहेको जनाएको छ । उद्योगमाथि हुलहुज्जत गर्ने वा उत्पादन बन्द गराउने अवस्था सिर्जना गर्नुभन्दा सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्ने संघको धारणा छ ।

दुवै संघले स्थानीय सरकार तथा नियमनकारी निकायलाई उद्योग सञ्चालक र असन्तुष्ट स्थानीय बासिन्दालाई वार्तामा राखेर समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । साथै, उद्योगसँग सम्बन्धित विषयको तथ्यपरक अध्ययन, नियमित अनुगमन, संवाद र समन्वयमार्फत समाधान निकाल्न तथा अदालती प्रक्रियामा असर पर्ने गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई अपिल गरेका छन् ।

उद्योगमा आवश्यक सुधारका लागि उपयुक्त समय र वातावरण उपलब्ध गराउँदै निजी क्षेत्रको लगानी, रोजगारी र उद्यमशीलताको संरक्षण गर्न नियमनकारी निकायले सहयोगी तथा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा दुवै संघले जोड दिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ०० बजे

असोज १६ देखि प्रदर्शनमा आउँदै ‘चमेलीको पोइ’, ट्रेलर सार्वजनिक

बुटवल । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार

स्पेनको शानदार जित, क्रोएसियामाथि ४-१ को विजय

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

मनाङमै अड्किए पर्यटक

मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

दमौली । लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको

बेनीमा खानेपानीको समस्या

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको