१४ आश्विन २०८३, बुधबार | September 30, 2026

असोज १६ देखि प्रदर्शनमा आउँदै ‘चमेलीको पोइ’, ट्रेलर सार्वजनिक



बुटवल । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरसमेत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न आयामलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र कलाकारको भूमिकालाई लिएर दर्शकमाझ चासो बढ्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन् । उनीहरूसँगै हास्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन (खबपु), अंशु महर्जन, रजनी गुरुङ, गणेश गौतम र प्रेमदेव गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रको अर्को आकर्षणका रूपमा हास्य कलाकार नारायण त्रिपाठीको पुनरागमनलाई लिइएको छ । लामो समयपछि ठूलो पर्दामा फर्किएका त्रिपाठीले चलचित्रमार्फत पुनः दर्शकमाझ आउन पाएकोमा आशावादी रहेको बताएका छन् ।

चलचित्रका निर्माता रामनारायण उपाध्यायले सामाजिक विषयवस्तुलाई आधार बनाएर चलचित्र निर्माण गरिएको बताए । आफ्नो पहिलो चलचित्र भए पनि समय, परिस्थिति र बजारको अवस्थालाई बुझ्दै आगामी दिनमा पनि निरन्तर चलचित्र निर्माण गर्ने उनको भनाइ छ । कला, संस्कृति र पहिचानको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले आफू र आफ्नो परिवार चलचित्र क्षेत्रमा सक्रिय भएको उनले बताए ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेका छन् । कार्यकारी निर्मातामा उदयविक्रम राणा र ऋतु मल्ल ठकुरी छन् । निर्देशक बोहराको कथामा शिवम अधिकारीले पटकथा तथा संवाद लेखनमा सहकार्य गरेका छन् ।

चलचित्रमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

यसअघि सार्वजनिक गरिएको ‘माया मान्छौ र’ गीतमा सुरक्षा पन्त र मुकुन भुसाललाई मुस्ताङका रमणीय दृश्यमा प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ ।

हास्यप्रधान कथावस्तु, विविध कलाकारको अभिनय तथा सामाजिक र पारिवारिक विषयवस्तुलाई समेटेका कारण चलचित्र निर्माणको सुरुवाती चरणदेखि नै चर्चामा रहेको निर्माण पक्षको भनाइ छ । चलचित्र असोज १६ गते अर्थात् अक्टोबर २ देखि देशभर प्रदर्शनमा आउने निर्माता सुनीता सापकोटाले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : ५६ बजे

असोज १६ देखि प्रदर्शनमा आउँदै ‘चमेलीको पोइ’, ट्रेलर सार्वजनिक

बुटवल । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार

स्पेनको शानदार जित, क्रोएसियामाथि ४-१ को विजय

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

मनाङमै अड्किए पर्यटक

मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

दमौली । लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको

बेनीमा खानेपानीको समस्या

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको