१५ आश्विन २०८३, बिहिबार | October 1, 2026

अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध



हुम्ला । हालै अविरल वर्षापछि बाढी, पहिरो र ढुङ्गा खस्दा मुख्य तथा ग्रामीण सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनसँगको सीमा जोड्ने सिमकोट-हिल्सा सडक, कर्णाली करिडोर तथा जिल्लाका सातवटै गाउँपालिकाका ग्रामीण सडकमा क्षति पुगेपछि जिल्लाको सडक सञ्जाल प्रभावित भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार वर्षापछि सडकका विभिन्न स्थानमा पहिरोले ढुङ्गा खसेर सडक अवरुद्ध भएको तथा बाढीले कल्भर्टलगायत संरचना बगाएको छ । सदरमुकाममा विद्युत् अवरोध भएकाले क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको कवाडीदेखि हिल्सासम्मका विभिन्न स्थानमा पहिरो खसेको र कतिपय ठाउँमा ठूला ढुङ्गा खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए । पहिरो र ढुङ्गा पन्छाएर कवाडी-गिउसी सडकखण्ड सञ्चालनमा ल्याइएको तथा निरन्तर काम भए माथिल्लो खण्ड पनि बुधबारसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए ।

वर्षाले जिल्लाका सातवटै गाउँपालिकाका वडा केन्द्र तथा गाउँबस्ती जोड्ने ग्रामीण सडकमा क्षति पुगेको छ । ताँजाकोट गाउँपालिकाको केन्द्र जाने सडकका विभिन्न स्थानमा क्षति पुगेको छ भने अदानचुली गाउँपालिका केन्द्रदेखि वडा नं ५ र ६ जाने सडक अवरुद्ध हुँदा विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको वडा नं ५ का वडा सदस्य सिंह बोहोराले बताए ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार ग्रामीण सडकमा ७० भन्दाबढी स्थानमा पहिरो खसेको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सबै गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए ।

अवरुद्ध सडक खुलाउन आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा कमान्ड पोस्टको बैठक नियमित रूपमा बसेर सम्बन्धित निकायसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले बताए ।

सडक अवरुद्ध भएपछि असोज १० गतेका लागि तय गरिएको नेपाली कांग्रेसको प्रदेश अधिवेशन तीन दिनपछि असोज १३ गते मात्र सम्पन्न भएको थियो । अधिवेशनमा सहभागी हुन तल्लो क्षेत्रबाट सिमकोट पुगेका प्रतिनिधिलाई सडक अवरोधका कारण दुई दिनसम्म लागेको अदानचुली गाउँपालिका-१ का उब्जन थापाले बताए । उनका अनुसार ठाउँठाउँमा पहिरो र ढुङ्गा खसेपछि सवारीसाधन रोकिँदा कतिपय ठाउँमा पैदल हिँड्नुपरेको थियो ।

उत्तरी हुम्लाको नाम्खा गाउँपालिका-५ स्थित नारा लेक र वडा नं ६ को लिमी जाने न्यालु लेकमा करिब साढे तीन फिट हिउँ जमेकाले ती सडकसमेत बन्द भएका छन् । हिउँ नपन्छाएसम्म सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण मुख्य तथा ग्रामीण सडक एकैपटक अवरुद्ध भएपछि हुम्लामा खाद्यान्न, दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवागमन तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार  ७ : ४२ बजे

‘चिनियाँ राष्ट्रको महान् पुनर्जागरण रोक्न कसैले सक्दैन’ : सी चिनफिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रिय पुनर्जागरणको महान् लक्ष्य

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९

बाढीपहिरोले क्षति पु-याएको बेनी-जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको

वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत