बुटवल । बालिका अपहरणको आरोप लागेका एक जनालाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपलागेका एक युवकलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारु रहेका छन् । उनलाई आइतबार राति तिलोत्तमा कै जंगलबाट पक्राउ गरेको हो । बालिका अपहरणपछि फरार रहेका थारुलाई खोजी गर्ने क्रममा प्रहरीले उनलाई तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट गोली प्रहार गरि नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली प्रहार गरिएको प्रहरीको भनाई छ । थारुको खुट्टामा प्रहरीले प्रहार गरेको गोली लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
थारुमाथि गत बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको आरोप छ । राति करिब २ बजेतिर बालिकालाई ओढाइदिन परिवारका सदस्य कोठामा पुग्दा उनी बिस्तारामा नभेटिएपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।
बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानदेखि खोजि कार्यलाई तिब्र बनाएको थियो । प्रहरीले शुक्रबार साँझ करिब ७ बजे कान्छी बजारस्थित जंगलबाट बालिकालाई अपहरण भएको करिब ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो । बालिका फेला परेसँगै अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्ने आधार प्रहरीले फेला पारेको प्रहरी स्रोतको दाबी छ ।
बालिका उद्धार गरिएको स्थानमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरेको जनाएको छ । त्यसपछि थारुको खोजीलाई तीव्र बनाइएको थियो । जंगलमै लुकेर बसेको अवस्थामा आइतबार राति करिब १ बजे थारुलाई जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले बालिका सकुशल रहेको र हाल आफ्नो सुरक्षामा रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया