मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ ।
“चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भने ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ पुगेका हुन् ।
चीनियाँ राजदूतसहित ५ जना चिनियाँ टोली र २ जना नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी उक्त टोलीमा रहेका छन्। । कोरला नाका हुँदै मुस्ताङ पुगेको उक्त टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको प्रहरी निरीक्षक बस्यालले बताए। उक्त टोली लोमान्थाङबाट जोमसोम आउने कार्यक्रम रहेको छ।
जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीनका समकक्षीबीच कोरला नाका सम्बन्धी बैठक बस्ने तयारी रहेको बताइएको छ।
कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम आइसकेपछि बैठक सकेर चिनियाँ राजदुत आज पुनः लोमान्थाङ फर्किने कार्यतालिका रहेको छ। भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरलानाका हुँदै चीन फर्किने योजना छ।
लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्दै आएको थियो ।
















प्रतिक्रिया