काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वको समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही गरिने बताएका छन् ।
सरकारले यस वर्षको दसैँलाई लक्षित गर्दै यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ । यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ-सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो ।
महासङ्घले सातै प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ-संस्था र काठमाडौंको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने तथा यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्ने महासङ्घले जनाएको छ ।
दसैँको भीड व्यवस्थापनका लागि यही असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ-काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक नलगाइने महासङ्घले जनाएको छ ।
त्यसैगरी, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ । महासङ्घका तर्फबाट गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ ।
चाडपर्वको समयमा यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई पनि प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने महासङ्घले जनाएको छ ।
















प्रतिक्रिया