काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुलको एक खण्ड बगाएको छ। बाढीले नदी आसपासका अन्य झोलुङ्गे तथा पक्की पुलमा समेत क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार आरुघाट गाउँपालिका–९ स्थित नयाँ पुलमा रहेको गोरखा र धादिङ जोड्ने पक्की पुलका तीन खण्डमध्ये गोरखातर्फको एउटा खण्ड बाढीले बगाएको हो।
बूढीगण्डकीमा जलसतह खतराको तहभन्दा अत्यधिक माथि पुगेपछि आरुघाट बजारसमेत खाली गराइएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक कँडेलका अनुसार अहिले पनि नदीको जलसतह घटेको छैन। नदी माथिल्लो क्षेत्रमा थुनिएको स्थानमा जलसतह घटबढ भइरहेको भए पनि तल्लो तटीय क्षेत्रमा पानीको सतह घटेको देखिएको छैन।
बाढीले गोरखाका अन्य स्थानमा रहेका पुलहरूमा पनि क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल तथा आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।
बाढीका कारण नदी आसपासका बस्ती तथा तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ। जलसतह अझै नघटेकाले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन प्रहरीले आग्रह गरेको छ।
















प्रतिक्रिया