काठमाडौं । बूढीगण्डकी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले नदीको जलसतह घटबढ भइरहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा बाढीको अति उच्च जोखिम रहेकाले स्थानीय बासिन्दालाई सुरक्षित तथा उच्च स्थानमा जान अनुरोध गरिएको छ। त्यस्तै, मुग्लिनसम्मको क्षेत्रमा उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ।
चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा भने बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। नदीको जलसतहमा भइरहेको उतारचढावलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
बाढीसम्बन्धी थप जानकारी तथा अद्यावधिक सूचनाका लागि ‘नेपाल बाढी सूचना’ फेसबुक पेज हेर्न वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ।
















प्रतिक्रिया