२५ आश्विन २०८३, आइतबार | October 11, 2026

उद्योगको विरासतदेखि नेतृत्वको यात्रासम्म निर्मित कसजु, नरिश्वर शर्मा पौडेलको प्यानलबाट उद्योग उपाध्यक्षका उम्मेदवार



बुटवल । उद्योग सञ्चालन गरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने र युवालाई पलायन हुनबाट रोक्ने चुनौती आज मुलुकसामु छ । बेरोजगारी, आर्थिक मन्दी र राजनीतिक अस्थिरताका कारण युवामा विदेशिने आकर्षण बढिरहेका बेला बुटवलका युवा उद्यमी निर्मित कसजु भने पुर्खाले सुरु गरेको औद्योगिक विरासतलाई निरन्तरता दिँदै स्वदेशी उद्योगको विकासमा सक्रिय छन् । उद्योग व्यवसायका समस्या समाधान, निजी क्षेत्रको सुदृढीकरण र बुटवलको आर्थिक विकासलाई प्राथमिकतामा राखेका कसजु बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनमा उद्योग उपाध्यक्षका उम्मेदवार बनेका छन् ।

आगामी तीन वर्षे कार्यकालका लागि नरिश्वर शर्मा पौडेलको प्यानलबाट उम्मेदवारी दिएका कसजु उद्योग क्षेत्रको लामो अनुभवलाई संघको नेतृत्वमार्फत व्यवसायीको हितमा उपयोग गर्ने योजनामा छन् । उद्योग सञ्चालनका क्रममा भोगेका समस्या, बजारको प्रतिस्पर्धा, कच्चा पदार्थको आपूर्ति, उत्पादन लागत र सरकारी नीतिका व्यावहारिक कठिनाइलाई नजिकबाट बुझेका उनी उद्योगमैत्री वातावरण निर्माणका लागि संघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउँछन् ।

तीन पुस्तादेखि उद्योग व्यवसायमा कसजु परिवार

बुटवलको औद्योगिक इतिहाससँग जोडिएको नाम हो, कसजु परिवार । व्यापारिक केन्द्र बटौलीबाट आधुनिक बुटवल हुँदै औद्योगिक सहरको पहिचान स्थापित गर्ने यात्रामा यो परिवारको योगदान उल्लेखनीय छ । हजुरबुवा निर्मलप्रसाद कसजुले सुरु गरेको उद्योग व्यवसायलाई उनका छोरा रञ्जन कसजुले निरन्तरता दिए । अहिले तेस्रो पुस्ताका निर्मित कसजु त्यही विरासतलाई आधुनिक प्रविधि र नयाँ उत्पादनसँग जोड्दै अगाडि बढिरहेका छन् ।

रिडीबाट बुटवल आएर थोक किराना व्यापार सुरु गरेका निर्मलप्रसाद विस्तारै उद्योगतर्फ आकर्षित भएका थिए । तत्कालीन समयमा बुटवलमा व्यापारिक गतिविधि विस्तार हुँदै गर्दा उनले मुद्रण उद्योग स्थापना गरे । बुटवल–१ मा सञ्चालित निर्मल प्रिन्टिङ प्रेसले २००९ सालदेखि २०३७ सालसम्म सेवा दिएको थियो । राणा शासनविरोधी आन्दोलनदेखि विभिन्न राजनीतिक गतिविधिमा समेत प्रेसको योगदान रहेको बताइन्छ ।

मुद्रण उद्योगबाट सुरु भएको उनको औद्योगिक यात्रा घरेलु साडी तथा कपडा उत्पादन हुँदै हवाई चप्पल उद्योगसम्म विस्तार भयो । उनले सुरु गरेको यति चप्पलले कुनै समय नेपाली बजारमा राम्रो पहिचान बनाएको थियो । तर, पछि विदेशी उत्पादनसँगको प्रतिस्पर्धा र बजारको बदलिँदो अवस्थाले उद्योगलाई चुनौती थप्यो ।

कसजु परिवारले त्यसपछि प्रेसर कुकर तथा खानेपानीसम्बन्धी उद्योगमा समेत लगानी विस्तार गर्‍यो । राजनीतिक अस्थिरता, माओवादी द्वन्द्व र बजारको कठिन परिस्थितिका कारण कतिपय उद्योग बन्द गर्नुपरे पनि परिवारले औद्योगिक क्षेत्रबाट हात झिकेन । बरु नयाँ सम्भावना खोज्दै उत्पादन र बजारको स्वरूप परिवर्तन गर्दै गयो ।

पानी ट्याङ्की उद्योगबाट नयाँ पहिचान

नेपाली बजारमा काठमाडौँमा उत्पादित पानी ट्याङ्कीको प्रभाव रहँदा पश्चिम नेपालमा पनि स्वदेशी उत्पादनको सम्भावना देखेर कसजु परिवारले पानी ट्याङ्की उद्योगमा लगानी गर्‍यो । २०५८ सालमा ज्ञानी पोलिपाइप इन्डस्ट्रिज स्थापना गरी पानी ट्याङ्की उत्पादन सुरु गरिएको थियो । पश्चिम नेपालमा चम्किलो पानी ट्याङ्कीको उत्पादनबाट सुरु भएको यो यात्रा अहिले ज्ञानी पोलिट्याङ्कीसम्म आइपुगेको छ ।

हजुरबुवाले थालेको औद्योगिक अभियानलाई निरन्तरता दिन निर्मितले अस्ट्रेलियाको बसाइसमेत त्यागेर स्वदेश फर्किने निर्णय गरेका थिए । उनका बुवा रञ्जन कसजुले उद्योग व्यवसायको जिम्मेवारी सम्हालिरहेका बेला परिवारको व्यवसायलाई थप विस्तार गर्ने उद्देश्यसहित उनी स्वदेश फर्किएका हुन् । उद्योगको जिम्मेवारी सम्हाल्न थालेको करिब डेढ दशक भइसकेको उनी बताउँछन् ।

अहिले ज्ञानी ब्रान्डअन्तर्गत पोलिट्याङ्की, एचडीपीई पाइप, एचडी पाइप, गार्डेन पाइप तथा अन्य पोलिमरजन्य सामग्री उत्पादन हुँदै आएको छ । बजारको माग र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै उद्योगले पीभीसी तथा सीपीभीसी पाइप उत्पादनसमेत सुरु गरेको छ । नारायणी नदीपश्चिम क्षेत्रमा ज्ञानी ब्रान्डले बनाएको पहिचानलाई थप विस्तार गर्ने उद्देश्यले नयाँ उत्पादन थपिएको कसजु बताउँछन् ।

उद्योगमा आधुनिक प्रविधि र मेसिनको प्रयोग बढाउँदै उत्पादन क्षमता विस्तार गरिएको छ । उपलब्ध विवरणअनुसार उद्योगमा दैनिक करिब ७० हजार लिटर क्षमताबराबरका पानी ट्याङ्की उत्पादन हुँदै आएका छन् । त्यस्तै, पीभीसी पाइप उत्पादन क्षमता प्रतिघण्टा करिब २०० किलो र सीपीभीसी पाइप उत्पादन क्षमता प्रतिघण्टा करिब १५० किलो रहेको छ । उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ साउदी अरब, भारत, कोरिया, जापान र थाइल्यान्डलगायतका देशबाट आयात गरिन्छ ।

अहिले ज्ञानी ब्रान्डअन्तर्गत पोलिट्याङ्की, एचडीपीई पाइप, एचडी पाइप, गार्डेन पाइप तथा ज्ञानी पोलिमर, ज्ञानी आल्मोनियम, नोबिगोल्डबाट विभिन्न सामग्री उत्पादन हुँदै आएका छन । ज्ञानी ब्राण्ड पश्चिम नेपाल कै पहिलो पोलिट्याङ्कको ब्राण्ड पनि हो ।

कसजुका अनुसार उद्योगको उद्देश्य नाफा कमाउनुमा मात्र सीमित छैन । स्वदेशमै उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने लक्ष्य पनि उत्तिकै महत्त्वपूर्ण छ ।

तीन सयभन्दा बढी नेपालीलाई रोजगारी

उद्योग सञ्चालनको मुख्य उपलब्धि उत्पादन र बिक्री मात्र नभई रोजगारी सिर्जना पनि भएको कसजुको भनाइ छ । ज्ञानी उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ५० जनाले रोजगारी पाएका छन् भने प्रतिष्ठानअन्तर्गतका अन्य उद्योगसमेत जोड्दा करिब तीन सय नेपाली श्रमिक तथा कर्मचारीको रोजगारीसँग यो व्यवसाय जोडिएको छ ।

नेपालका कतिपय उद्योगले दक्ष जनशक्तिका लागि विदेशी श्रमिकमा निर्भर रहनुपर्ने अवस्था भए पनि आफ्नो प्रतिष्ठानमा नेपाली जनशक्तिबाटै उद्योग सञ्चालन भइरहेको उनी बताउँछन् । कोरोना महामारीअघि रोजगारी पाउनेको सङ्ख्या अझ बढी रहेको उनको भनाइ छ ।

युवालाई विदेश जानबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको धारणा छ । त्यसका लागि उद्योग स्थापना गर्ने वातावरण, लगानीमैत्री नीति, प्रविधिको उपलब्धता र उत्पादनको बजार सुनिश्चित हुनु आवश्यक रहेको उनी बताउँछन् । उद्योगमा लगानी गर्न चाहने व्यवसायीलाई प्रोत्साहन गर्ने तथा विद्यमान उद्योगलाई टिकाइराख्ने नीति राज्यले अवलम्बन गर्नुपर्नेमा उनको जोड छ ।

उद्योगमैत्री नीति र निजी क्षेत्रको सुदृढीकरण प्राथमिकतामा

बुटवल उद्योग वाणिज्य संघमा तीन कार्यकाल उद्योग सदस्यका रूपमा काम गरिसकेका निर्मित कसजुलाई संघको संस्थागत गतिविधि र उद्योगीका समस्याबारे प्रत्यक्ष अनुभव छ । उद्योग क्षेत्रमा लामो समय बिताउँदा सरकारी नीति, बजारको प्रतिस्पर्धा र उद्योग सञ्चालनका व्यावहारिक कठिनाइ नजिकबाट बुझ्ने अवसर पाएको उनी बताउँछन् ।

उनका अनुसार निजी क्षेत्रलाई विश्वासमा नलिई मुलुकको आर्थिक समृद्धि हासिल गर्न कठिन हुन्छ । उद्योग व्यवसायको विस्तारबाट उत्पादन बढ्ने, रोजगारी सिर्जना हुने र राज्यको राजस्वमा योगदान पुग्ने भएकाले निजी क्षेत्रमैत्री नीति निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्छ ।

उद्योगीका समस्या सरकारसम्म पुर्‍याउने, समाधानका लागि पहल गर्ने र उद्योग व्यवसाय सञ्चालनमा देखिएका नीतिगत अवरोध हटाउन संघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ । संघको नेतृत्व व्यवसायीका समस्या सुन्ने र सम्बन्धित निकायसँग समन्वय गर्ने माध्यम बन्नुपर्नेमा उनी जोड दिन्छन् ।

आफूले उद्योग सदस्यका रूपमा काम गर्दा प्राप्त गरेको अनुभवलाई अब नेतृत्व तहमा उपयोग गर्ने उद्देश्यले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएको कसजु बताउँछन् । उद्योग क्षेत्रका मुद्दालाई निरन्तर उठाउँदै व्यवसायीका समस्या समाधानका लागि संस्थागत पहल गर्ने उनको प्रतिबद्धता छ ।

नरिश्वर शर्मा पौडेलको प्यानललाई साथ

बुटवल उद्योग वाणिज्य संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । यसै क्रममा नरिश्वर शर्मा पौडेलको प्यानलबाट उद्योग उपाध्यक्षका उम्मेदवार बनेका निर्मित कसजुले उद्योग क्षेत्रको अनुभवलाई संघको नेतृत्वमा रूपान्तरण गर्ने लक्ष्य राखेका छन् ।

पौडेलको प्यानलबाट उम्मेदवारी दिएका कसजुले उद्योगी व्यवसायीका समस्या, निजी क्षेत्रको विकास र बुटवलको आर्थिक गतिविधि विस्तारलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उद्योगको विकासलाई बुटवलको समग्र विकाससँग जोडेर हेर्नुपर्ने उनको बुझाइ छ ।

कसजु परिवारको औद्योगिक विरासत केवल एउटा व्यवसायको इतिहास मात्र नभई बुटवलको औद्योगिक विकाससँग जोडिएको यात्रा पनि हो । त्यही विरासतलाई निरन्तरता दिँदै नयाँ प्रविधि, उत्पादन विस्तार र रोजगारी सिर्जनामा सक्रिय निर्मित अब संघको नेतृत्वमार्फत उद्योग क्षेत्रका समस्या समाधानमा योगदान दिन चाहन्छन् ।

बुटवललाई पुनः आर्थिक रूपमा चलायमान, औद्योगिक रूपमा प्रतिस्पर्धी र व्यवसायका लागि आकर्षक सहर बनाउन निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनी बताउँछन् । उद्योगी व्यवसायीका साझा समस्या समाधान गर्न संघको नेतृत्वले स्पष्ट दृष्टिकोण, सक्रियता र समन्वय क्षमता देखाउनुपर्ने उनको धारणा छ ।

उद्योगमा तीन पुस्तादेखिको अनुभव, उत्पादन क्षेत्रको व्यावहारिक ज्ञान र संघमा काम गरेको संस्थागत अनुभवलाई आधार बनाएका कसजुको उम्मेदवारीलाई पौडेल प्यानलको उद्योग क्षेत्रसम्बन्धी एजेन्डासँग जोडेर हेरिएको छ । स्वदेशी उद्योगको संरक्षण, रोजगारी सिर्जना र उद्योगमैत्री वातावरण निर्माणका मुद्दालाई प्राथमिकतामा राख्दै उनी नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ६ : ५८ बजे

खजुरामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु, न्यू हिमालयनको विजयी सुरुवात

नेपालगन्ज । बाँकेको खजुरामा बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

बूढीगण्डकी बाढी : गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

गोरखा । बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीस्थित पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा