३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् ।

एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताए।

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने व्यवस्था मिलाउने काम अगाडि बढिरहेको बताए।

गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने छ भने ।

उनले अपराधले सीमा नचिन्ने उल्लेख गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताए ।

गृहमन्त्री गुरुङले भने, “हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीको पहिलो बैठक एवं भारतीय समकक्षीसँग भएको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको उपयोगजस्ता विषयमा सहकार्य बढाउन जोड दिएको छु । क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ ।”

उनले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार बन्न निर्देशन दिए ।

गृहमन्त्री गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डिएनए फोरेन्सिक तथा डिएनए प्रोफाइलिङजस्ता आधुनिक विषयमा क्षमता बढाउन पनि निर्देशन दिए ।

उनले प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बनाउन आग्रह गरे। “नयाँ पुस्ताले सोधेको छ– राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देश, मेरो मातृभूमिमै उज्ज्वल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले समेत निर्धारण गर्नेछ”, गृहमन्त्री गुरुङले भने ।

उनले विपद् उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता तथा खाजा खर्चको प्रबन्ध भइसकेको तथा हालै नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको जानकारी दिए ।

नेपाल प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको बताए ।

उनले भने, “नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको गति र भावनाअनुसार तपाईंहरूले समेत व्यावहारिक र व्यावसायिक रूपमा आफूलाई रूपान्तरण गर्दै जान जरुरी छ । अबका दिनमा गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानको क्रममा नागरिकलाई केन्द्रमा राखी कार्य सम्पादन गर्नुहोला ।”

उनले प्रहरीलाई आफ्नो आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिए ।

त्यस अवसरमा गृहमन्त्री गुरुङले कर्तव्य पालनाका क्रममा ज्यान गुमाउनुभएका सम्पूर्ण अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे । उनले भने, “गत भदौ १० गते रसुवाको भोटेकोशी र त्यसपछि मनाङ, मुस्ताङ तथा बूढीगण्डकीको बाढीलगायतका विपद्का घटनामा आफ्नै सहकर्मीले ज्यान गुमाउँदा पनि अविचलित रही उद्धारमा खटिएर प्रहरीले देखाएको साहसको मैले उच्च मूल्याङ्कन गरेको छु ।”

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ११ : ५५ बजे

बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

काठमाडौँ । शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी

दसैंदेखि छठसम्म वालेटमा एक दिनमा ५० पटकसम्म पैसा जम्मा गर्न सकिने

काठमाडौं । ठूला चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वालेटमा

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको