३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि



काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट थप गरेको छ । चिकित्सा शिक्षा आयोगको २८औँ बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस, बीएस्सी नर्सिङ र बीएनएसलगायतका कार्यक्रममा सिट वृद्धि गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कुल ९ हजार ६९१ सिट निर्धारण गरेको आयोग स्रोतले जनाएको छ । यस वर्ष एमबीबीएसमा मात्रै ११० सिट थपिएका छन् ।

आयोगले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पहिलोपटक एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरेको छ । त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेनाद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३०/३० सिट थप गरिएको छ ।

यी तीन संस्थामा थप गरिएका सिट जोड्दा एमबीबीएसतर्फ ११० सिट वृद्धि हुन्छ । यससँगै एमबीबीएस अध्ययनका लागि कुल सिट संख्या २ हजार ७४५ पुगेको छ । आयोगले एमबीबीएस सञ्चालन गर्ने शिक्षण संस्थाका लागि ५० देखि १३० सिटसम्म निर्धारण गरेको छ ।

यस वर्ष एमबीबीएसमा सिट थप गरिएका संस्थामध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब १३०र१३० विद्यार्थीलाई अध्ययन गराउन पाउनेछन् ।

नर्सिङमा ३०८ सिट वृद्धि

चिकित्सा शिक्षा आयोगले नर्सिङतर्फ पनि ३०८ सिट थप गरेको छ । बीएस्सी नर्सिङमा २१० र बीएनएसमा ९८ सिट वृद्धि गरिएको आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाले जानकारी दिएका छन् ।

आयोगका अनुसार यस वर्ष सिट निर्धारणका लागि ९० वटा शिक्षण संस्थाले स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । तीमध्ये अनुगमन प्रतिवेदन र आवश्यक मापदण्डका आधारमा ८४ वटा संस्थाका लागि मात्रै सिट निर्धारण गरिएको हो ।

शिक्षण संस्थाको भौतिक पूर्वाधार, शिक्षक तथा अन्य जनशक्तिको अवस्था र उपलब्ध क्षमताका आधारमा सिट निर्धारण गरिएको आयोग स्रोतले जनाएको छ । निजी मेडिकल कलेजको सिट संख्या भने यस वर्ष यथावत् राखिएको स्रोतको भनाइ छ ।

गेटालाई ५० सिट, पूर्वाधारबारे प्रश्न

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गर्ने निर्णयसँगै यसको पूर्वाधारबारे प्रश्न उठेको छ ।

एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ३०० शय्याको अस्पताल आवश्यक पर्ने भए पनि गेटामा हाल ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा रहेको बताइएको छ । विश्वविद्यालयले शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न धनगढीको सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पतालसँग २० वर्षका लागि सम्झौता गरेको छ । आयोगले ती अस्पतालसँगको सम्झेतालाई समेत आधार बनाएर सिट निर्धारण गरेको जनाइएको छ ।

चिकित्सा शिक्षा आयोगले यस वर्ष विभिन्न शैक्षिक कार्यक्रमका लागि सिट निर्धारण गर्दा शिक्षण संस्थाको क्षमता, उपलब्ध पूर्वाधार र अनुगमन प्रतिवेदनलाई आधार बनाएको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ४ : ०३ बजे

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट