नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार बाँकेको नेपालगन्ज स्थित शक्तिपिठ बागेश्वरी मन्दिरको दशैंघरमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ । नेपालगन्ज र त्यस आसपासको मठ मन्दिर तथा दुर्गा स्थापना गरिएका स्थानहरुबाट बाजागाजा सहित ल्याइएको फूलपाती बिशेष पूजा सहित बागेश्वरी मन्दिरमा भित्राइएको हो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत बाँके जिल्लाका धेरै वटा मठ मन्दिरबाट ल्याइएको फूलपाती भित्राउँदै नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत बाँके जिल्लाका धेरै वटा मठ मन्दिरबाट यो वर्ष पनि शक्तिपीठ बागेश्वरीमा फूलपाती भित्र्याइएको थियो । राप्तीसोनारी गाउँपालिकाको भुवँर भवानी मन्दिर, खजुरा गाउँपालिकाको खजुरामा रहेका लक्ष्मीनारायण मन्दिर र मनकामना मन्दिर, कोहलपुर नगरपालिका अनि दुर्गा पुजा समिति कोहलपुरबाट बागेश्वरीमा फूलपाती भित्र्याइएको बागेश्वरी गुठी व्यवस्थापन सहितिले जानकारी दिएको छ ।
सो अवसरमा नेपालगन्जमा बाजागाजासहित भजन किर्तन गर्दै शोभायात्रा निकालिएको थियो । शोभायात्रामा बाँके कला केन्द्रले नृत्य र गुल्मेली भजन समूहले भजन प्रस्तुत गरेको थियो । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन् ।


















प्रतिक्रिया