काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। महासभामा सहभागी हुन उनी गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए।
प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपालको प्राथमिकता, जलवायु परिवर्तनबाट उत्पन्न संकट तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दै गएको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए।
उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण जोखिम बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए। जलवायु संकट सिर्जना गर्न नेपालको योगदान न्यून भए पनि त्यसको ठूलो असर नेपालजस्ता देशले भोगिरहेको उनको भनाइ थियो।
‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै प्रधानमन्त्री शाहले हिमनदी पग्लिने, पहिरो तथा बाढीजस्ता जोखिम नेपालमा मात्रै सीमित नरहेको बताएका थिए। यस्ता जोखिम नेपालसँगै चीन र भारतलगायत हिमाली क्षेत्रमा फैलिँदै गएको उनले बताएका थिए।
प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा पनि राखेका थिए। हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने उनको भनाइ थियो।
अमेरिका बसाइका क्रममा प्रधानमन्त्री शाहले राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गरेका थिए ।
















प्रतिक्रिया