टोकियो । दुर्लभ माटो तत्व इट्रियमको विश्वव्यापी आपूर्ति ठप्प हुँदा जापानमा यसको अभाव गहिरिने चिन्ता बढेको छ । जापानी अधिकारीका अनुसार, आपूर्ति र मागबीच ठूलो असन्तुलन देखिएको छ भने उपलब्ध मौज्दात केही महिनाका लागि मात्र पर्याप्त हुन सक्छ ।
इट्रियम उपभोक्ता इलेक्ट्रोनिक्स, एलईडी, विमानका इन्जिन, अर्धचालक उत्पादनमा प्रयोग हुने उपकरण तथा विभिन्न औद्योगिक सामग्री निर्माणका लागि महत्वपूर्ण तत्व हो । यसको आपूर्ति प्रभावित हुँदा प्रविधि र औद्योगिक उत्पादन क्षेत्रमा समेत असर पर्न सक्ने देखिएको छ ।
जापानको उद्योग मन्त्रालयका एक अधिकारीले बुधबार एएफपीसँग कुरा गर्दै इट्रियमको निर्यात जापानमा मात्र नभई विश्वव्यापी रूपमै ठप्प भएको बताए । उनका अनुसार, ढुवानीमा ढिलाइ, निर्यातमा कमी र बजारमा उपलब्धता घट्दा यसको मूल्यसमेत अत्यधिक बढेको छ ।
‘फाइनान्सियल टाइम्स’को रिपोर्टअनुसार, जापानसँग रहेको इट्रियमको मौज्दात अब केही महिनामै सकिन सक्छ । चिनियाँ भन्सार तथ्याङ्कअनुसार, जापानतर्फ चीनबाट हुने इट्रियम अक्साइडको निर्यात गत सेप्टेम्बरमा चार हजार किलोग्राममा झरेको थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो निर्यात ५१ हजार किलोग्राम थियो ।
अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, विश्वको दुर्लभ माटो उत्खननको करिब दुई तिहाइ र प्रशोधित उत्पादनको ९२ प्रतिशत हिस्सा चीनको नियन्त्रणमा छ । यसले दुर्लभ खनिजको आपूर्तिमा चीनको महत्वपूर्ण भूमिका रहेको देखाउँछ ।
जापानले इट्रियमलगायत महत्वपूर्ण खनिजको वैकल्पिक आपूर्ति सुनिश्चित गर्न अमेरिका र युरोपेली राष्ट्रहरूसँग सहकार्य गरिरहेको उद्योग मन्त्रालयका अधिकारीले बताएका छन् ।
यसैबीच, चीन र जापानबीच ताइवानको विषयलाई लिएर तनाव बढिरहेका बेला दुर्लभ खनिजको आपूर्ति थप संवेदनशील बनेको छ । जापानी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेकी सानाए ताकाइचीले यसअघि इट्रियमलाई जापानका लागि महत्वपूर्ण दुर्लभ खनिज बताउनुभएको थियो ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार जापानको पुनः सैन्यीकरण र आणविक हतियार प्राप्त गर्ने प्रयासलाई रोक्ने उद्देश्यले कानुन तथा नियमअनुसार निर्यात नियन्त्रण लागू गरिएको बताइन।
‘फाइनान्सियल टाइम्स’का अनुसार, जापानले अमेरिकी सरकार र उद्योग क्षेत्रसँग चीनको निर्यात नियन्त्रण खुकुलो पार्न पहल गर्न आग्रह गरेको छ । जापानी पार्टपुर्जामा निर्भर अमेरिकी रक्षा आपूर्ति शृङ्खलासहित मोटरगाडी, रक्षा र चिप उद्योगमा सम्भावित अवरोध कम गर्नु यसको उद्देश्य रहेको बताइएको छ ।
इट्रियमको आपूर्ति सङ्कट लम्बिएमा जापानका प्रविधि तथा औद्योगिक क्षेत्र प्रभावित हुन सक्ने चिन्ता बढेको छ ।


















प्रतिक्रिया