४ कार्तिक २०८३, बुधबार | October 21, 2026

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित



पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि देशको महत्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने पर्यटन व्यवसायीहरूले चेतावनी दिएका छन् ।

फ्रान्सको पर्यटन संस्थाहरूको छाता सङ्गठन ‘एडिएन टुरिजम’की प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोनजस्ता प्रमुख सहरमा देखिएको हिंसालाई विनाशकारी बताउनुभयो । उहाँका अनुसार, पर्यटकहरू होटलमा बसेर रमाइलो गर्न आउँछन्, हिंसाका कारण होटलभित्रै सीमित हुन होइन ।

प्रहरीसँगको झडप, सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र सडकमा हिंसात्मक गतिविधिका दृश्यले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा व्यापक स्थान पाएका छन् । यसले सामाजिक सञ्जालमा फ्रान्सको आकर्षक पर्यटन छविलाई समेत प्रभावित गरेको छ । कतिपय पर्यटकले पेरिस सुरक्षित छ कि छैन भन्ने प्रश्न उठाएका छन् भने केहीले यात्रा रद्द गर्ने वा स्थगित गर्ने सोच बनाएका छन् ।

परामर्श तथा अनुसन्धान संस्था ‘प्रोटुरिजम’का प्रमुख डिडियर अरिनोका अनुसार, पेरिस, लियोन र मार्सेमा होटल बुकिङ रद्द हुने क्रम बढ्न थालेको छ । उनका अनुसार, पेरिसको केन्द्रमा भएको एक दिनको दङ्गापछि होटल बुकिङ रद्द हुने दरमा करिब एक प्रतिशतले वृद्धि भएको छ । यद्यपि, सन् २०२६ का लागि अनुमान गरिएको चार करोड २० लाख होटल तुलनामा यो तत्काल ठूलो गिरावट होइन । तर, हिंसा बारम्बार दोहोरिएमा प्रभाव गम्भीर हुन सक्ने उनले बताए।

फ्रान्सले वार्षिक करिब १० करोड पर्यटकलाई स्वागत गर्दै पर्यटनबाट ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्छ । विशेषगरी लामो दूरीबाट आउने पर्यटकले बढी खर्च गर्ने भएकाले उनीहरूको सङ्ख्या घट्दा पर्यटन राजस्वमा समेत असर पर्न सक्छ ।

संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका देशले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि बुकिङमा थप दबाब परेको छ । ट्राभल एजेन्सी समूह ‘सेलेक्टुर’का कार्यकारी प्रमुख लरेन्ट एबिटबोलका अनुसार, हिंसा दुई सातामै नियन्त्रणमा आए ठूलो क्षति नहुन सक्छ । तर, महिनौँसम्म जारी रहे पर्यटन क्षेत्रका लागि विनाशकारी हुन सक्छ ।

होटलसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने संस्था ‘एमकेजी कन्सल्टिङ’का अनुसार, पेरिसका होटलले आगामी छ साताका लागि सम्भावित बुकिङ गुमाएका छन् । अक्टोबर १९ र २० बीच गरिएको विश्लेषणमा अक्टोबर २० देखि २९ सम्मको बसाइका लागि बुकिङको अनुपात अघिल्लो वर्षको तुलनामा रहेको अग्रता एक प्रतिशत बिन्दुबाट घटेर शुन्य दशमलव दुई प्रतिशत बिन्दुमा झरेको थियो । अक्टोबर २० देखि २५ सम्मको बसाइमा पनि यस्तो अग्रता तीन दशमलव पाँच बाट घटेर एक दशमलव नौ प्रतिशत बिन्दुमा पुगेको थियो ।

संस्थाका अनुसार, निकट भविष्यका बसाइ र महँगा होटलमा यसको प्रभाव बढी देखिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार, आगामी हप्तामा हिंसाको अवस्था कस्तो रहन्छ भन्ने कुराले फ्रान्सको पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ८ : ३४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि