काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई तिहाइको सरकारले गलत काम गर्दै गए आफूहरू तमासा हेरेर मात्रै नबस्ने बताएका छन् ।
सरकारले जिम्मेवार ढंगले काम गर्ने, जनताका आकांक्षा पूरा गर्ने तथा राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने अपेक्षा गरिए पनि विभिन्न गतिविधिले प्रश्न उठाएको उनको भनाइ छ ।
पार्टीले शनिबारदेखि सुरु गरेको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहमा बोल्दै नेपालले जनताका गुनासा र अपेक्षा बुझ्न गाउँ तथा वडाकेन्द्रित अभियान सञ्चालन गर्न लागिएको बताए ।
‘यो सरकार दुई तिहाइको छ, यसले जिम्मेवार ढंगले मुलुक चलाउनेछ । जनताका इच्छा आकांक्षालाई पूरा गर्नेछ । देशको स्वाभिमानको रक्षा गर्नेछ, लोकतन्त्र र गणतन्त्रलाई जोगाउनेछ, सुदृढ गर्नेछ भन्ने थियो,’ उनले भने, ‘तर अनेकौँ खालका कुरा देखिरहँदा स्वाभाविक रूपमा हामी तमासे भएर बस्न सक्दैनौँ ।’
अभियानमार्फत जनताका आशा, आकांक्षा र गुनासा सुन्ने तथा पार्टीले गरेका काम र आफ्ना कमजोरीको समीक्षा गर्ने उनले बताए । जनतासँग प्रत्यक्ष जोडिएर उनीहरूका धारणा बुझ्ने उद्देश्यले अभियान सुरु गरिएको नेपालको भनाइ छ ।
पत्रकार सम्मेलनमा उनले राजनीतिलाई स्वार्थीहरूको खेलका रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए । व्यक्तिगत स्वार्थ पूरा गर्नकै लागि राजनीति गरिन्छ भन्ने भाष्य गलत भएको उल्लेख गर्दै उनले राजनीतिक जीवन समर्पण गर्ने धेरै नेता तथा कार्यकर्ता जनताको हितका लागि लागेको बताए ।
‘राजनीति भनेको स्वार्थीहरूको खेलको रूपमा व्याख्या गरिएको छ । निजी स्वार्थलाई पूरा गर्नका लागि राजनीतिमा लाग्ने भनेर यसको व्याख्या गर्ने गरिएको छ । तर हामी सबैलाई थाहा छ, यो राजनीतिमा जीवन समर्पण गर्ने योद्धाहरू आफ्नो स्वार्थका निम्ति लागेका होइनन्,’ उनले भने ।
नेपालले अहिले राजनीतिमा नयाँ भाष्य निर्माण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसको सत्यतथ्य पहिचान नगरी निष्कर्षमा पुग्न नहुने बताए । राजनीतिक दलहरूले पनि आफूबाट भएका कमजोरीको समीक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
‘काम गर्दा कमीकमजोरी हुन सक्दछन्, त्यसमा आत्तिनुपर्ने आवश्यकता छैन,’ उनले भने, ‘तर विभिन्न पार्टीहरूले पनि आफूबाट कहाँ कमजोरी भए, के–के कमजोरी भए, त्यसको समीक्षा गर्नुपर्छ ।’
पुराना पार्टी र नेताहरूले देशका लागि केही पनि नगरेको भन्ने भाष्य पनि तथ्यमा आधारित नभएको उनले जिकिर गरे । कुनै पनि राजनीतिक दल वा नेतामाथि आरोप लगाउँदा त्यसलाई तथ्यका आधारमा पुष्टि गर्नुपर्ने नेपालको भनाइ छ ।
राष्ट्रिय हित र स्वाभिमानको रक्षा आफ्नो पार्टीको प्राथमिकता रहेको उल्लेख गर्दै उनले देशको हितमा आघात पुग्ने काम भए त्यसलाई चुपचाप हेरेर नबस्ने बताए ।
दुई महिने राष्ट्रिय जागरण अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका समस्या र सुझाव संकलन गर्ने तथा प्राप्त प्रतिक्रियाका आधारमा पार्टीका आगामी गतिविधि अघि बढाउने नेकपाको योजना रहेको उनले जानकारी दिए ।

















प्रतिक्रिया