१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

मनास्लुको स्याउ गोदाममै थन्कियो



गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे ।

गत असोस २५ गते चुमनुब्री गाउँपालिका-६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटीय क्षेत्रका दर्जनौँ पुल तथा सडक बाटो बगाएको छ । जसका कारण आवतजावतमा समस्या भएको हो । बाढीले उत्तरी गोरखाको लाइफलाइनका रुपमा लिइएको बेनिघाट आरुघाट लार्के सडक पनि अवरुद्ध बनेको छ । चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध बनेको थियो ।

गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा अस्थायी रुपमा सडक खुलाउने काम भइरहेको भए पनि स्याउ ढुवानी गर्नसक्ने अवस्था भने नरहेको व्यवसायी लाक्पा डुन्डुप बताउँछन । उनी भन्छन, “गाउँपालिकाले जसोतसो मान्छे हिँड्ने बाटो त बनाएका छन्, तर खच्चड हिँडाउन सकिँदैन । झनै खच्चडमा स्याउ ढुवानी गर्ने त सम्भावना नै छैन ।”

लामाले चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित दुई हजार ६५० मिटर उचाइमा अवस्थित बगैँचामा विभिन्न प्रजातिका स्याउखेती गरेका छन । इन गोरखा प्रोडक्ट प्रालि नामक उनको स्याउ फर्ममा यस वर्ष एकलाख केजी स्याउ उत्पादन भएको उनी बताउँछन ।

गाला, गोल्डेन, रेड डिलिसियस, किङ डेलिसियस र फुजी जातका १२ हजार ५०० बोटमा यसवर्ष एकलाख केजी स्याउ उत्पादन भएको लामाको भनाइ छ ।

“फुजी थेरौ टिप्न बाँकी छ, त्यो बाहेक सबै स्याउ टिपिसक्यौँ । गाला र गोल्डेन डिलिसियस टिपेको एकमहिना भयो । अहिले बिग्रन थालिसके”, उनले भने, “भदौ २१ गते गएको थेराङ खोलाको बाढीले लघु जलविद्युत् आयोजना बगाएर विद्युत् नहुँदा ड्रायर पनि चलेको छैन । त्यसैले स्याउको सुकुटी पनि बनाउन पाइएन ।” यस वर्ष स्याउको उत्पादन राम्रो भए तापनि ढुवानीको समस्याका कारण लाखौँ किलो स्याउ खेरजाने अवस्था रहेको उनले गुनासो गरे ।

मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ ढुवानीको समस्या हरेक वर्षको हो । तर, यो वर्ष बाढीले ढुवानीको समस्यालाई थप चर्को बनाएको छ । नाम्रुङ र आसपासका क्षेत्रमा उत्पादन भएका स्याउ खच्चडमार्फत बजारसम्म पु¥याउन करिब एकहप्ता लाग्छ । यसोगर्दा २० देखि २५ प्रतिशत स्याउ खेरजाने हुन्छ । साँघुरो बाटामा स्याउ ठोक्किने र घामले ओइल्याउने हुँदा स्याउ धेरै स्याउ खेरजाने समस्या रहेको किसान बताउँछन् ।

हेलिमार्फत ढुवानी गर्दा स्याउको मूल्य बढ्न जाने र बिक्री नहुने समस्या हुन्छ मनास्लुका किसानलाई । “आधा, आधी स्याउ खेर गए पनि खच्चडमार्फत नै ढुवानी गर्नुहुन्थ्यो । बाढीले पुल, बाटो सबै बिगारेपछि अहिले त्यो विकल्प पनि रहेन । हामी साह्रै मर्कामा छौँ”, व्यवसायी लाक्पा डुन्डुप भन्छन ।

सडक सञ्जाल नपुगेको यस क्षेत्रमा स्याउलगायत अन्य कृषिजन्य उत्पादन ढुवानी गर्नु कुनै कहर काट्नुभन्दा कम छैन । बाढीले ढुवानी करिब असम्भव जस्तो बनेपछि किसान घाममा सुकाएको भरमा स्याउको सुकुटी र मदिराजन्य पदार्थ बनाउनमा लागेका छन् । धेरै उत्पादन हुनेहरुको भने केही सुकुटी र रक्सी बनाउने र धेरै कुहाउनेबाहेक अरु उपाय छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ८ : ३४ बजे

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको