सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठजना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र सुरुङ खनेर पर्खाल भत्काउँदै उनीहरू फरार भएका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार फरार हुनेमध्ये पाँचजना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका र तीनजना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धन बुढा भनिने हरिबहादुर बुढा रहेका छन्।
त्यस्तै, चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी पनि फरार भएका छन्।
प्रहरीका अनुसार कैदीबन्दीले ४.६३ मिटर लामो सुरुङ खनेर कारागारको पर्खालसमेत भत्काएका थिए। त्यसपछि उनीहरू कारागारबाट बाहिरिएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक विनय सिंहका अनुसार कारागारमा जम्मा १७ जना कैदीबन्दी रहेकामा आठजना फरार भएका हुन्।
फरार कैदीबन्दीको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
















प्रतिक्रिया