१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

‘सिंहदरबारमा रमिता चलिरहेको छ’ : विश्वप्रकाश



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने निर्णयलगायत सरकारका पछिल्ला गतिविधिप्रति प्रश्न उठाउँदै सिंहदरबार र बालुवाटारमा ‘रमिता’ चलिरहेको टिप्पणी गरेका छन्।

बुधबार साँझ कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले जनताले पाँच वर्षका लागि स्थायी सरकार सञ्चालन गर्ने म्यान्डेट दिए पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

सरकारको प्राथमिकता प्रहरी महानिरीक्षक हटाउने, पत्रकार पक्राउ गर्ने र अन्य विवादमा अल्झिने नभई बाढी प्रभावितलाई राहत वितरण गर्ने तथा बिचौलियामाथि निष्पक्ष छानबिन गर्ने हुनुपर्ने उनको भनाइ थियो।

सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको औचित्यमाथि प्रश्न उठाउँदै शर्माले कुन मुद्दा र कुन तथ्यका आधारमा आईजीपी हटाइएको हो भन्ने सरकारले पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने बताए।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा पार्टीको निर्देशनसमेतका आधारमा आईजीपीको जिम्मेवारी हेरफेर गरिएको बताएका थिए। तर त्यसको करिब एक घण्टापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले पार्टीले कुनै व्यक्तिलाई हटाउन वा नियुक्त गर्न निर्देशन नदिएको प्रतिक्रिया दिएको विषयलाई शर्माले सरकारको कार्यशैलीसँग जोडेर आलोचना गरे।

‘आज सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ,’ शर्माले भने, ‘यो देशका मतदाताले विश्वास र आशा गरेर दिएको मतको सरकारले सम्मान गरिरहेको छैन।’

उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको मोबाइल नियन्त्रण र प्रमाण नष्ट गरिएको भनिएको प्रकरणबारे पनि प्रश्न उठाए।

‘एकजना बिचौलियाको मोबाइल प्रहरीले कब्जा गरेपछि प्रधानमन्त्रीको सल्लाहकारकहाँ किन गयो रु कुन तथ्य मेटाउनु थियो रु कुन विधि र कुन प्रक्रियाअनुसार गएको थियो रु’ उनले प्रश्न गरे।

शर्माले सरकारले बाढी प्रभावितलाई राहत दिन र बिचौलियामाथि छानबिन गर्नुपर्नेमा कांग्रेसलाई बदनाम गराउने गतिविधिलाई प्राथमिकता दिएको आरोप लगाए। अडियो सार्वजनिक गरेर नियोजित रूपमा कांग्रेसको छवि बिगार्न खोजिएको उनको दाबी थियो।

उक्त प्रकरणमा कांग्रेस छानबिनका लागि तयार रहेको उल्लेख गर्दै उनले सरकारले विश्वसनीय र स्वतन्त्र ढंगले अनुसन्धान गर्नुपर्ने माग गरे। कांग्रेसलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सरकारी संयन्त्र प्रयोग गरी किस्ताबन्दीमा अडियो सार्वजनिक भइरहेको आरोपसमेत उनले लगाए।

यसैबीच, कांग्रेसको विशेष महाधिवेशन र नियमित १५औँ महाधिवेशनको वैधानिकताबारे उठेका प्रश्नको जवाफ दिँदै शर्माले दुवै महाधिवेशन पार्टी विधानअनुसार सम्पन्न भएको स्पष्ट पारे।

उनले वर्तमान सरकारलाई पाँच वर्षसम्म स्थिर रूपमा काम गर्न पाउनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको पनि दोहोर्‍याए। कांग्रेस प्रतिपक्षको जिम्मेवारीमा रहेको भन्दै शर्माले सरकारको ध्यान जनताको अपेक्षा र सुशासनमा केन्द्रित हुनुपर्ने बताए।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ८ : २९ बजे

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत्

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा

जनकपुरधाम-अयोध्या रेल सञ्चालनको तयारी तीव्र, भोलि निरीक्षण

जनकपुरधाम । नेपालको जनकपुरधामदेखि भारतको अयोध्यानसम्म सञ्चालन हुने भनिएको आयोजना

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा