काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ । यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने परम्परा छ ।
धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ । यही परम्पराअनुसार धनतेरसका अवसरमा बजारमा सुनचाँदीका गरगहना तथा विभिन्न धातुका सामग्रीको किनमेल हुने गर्छ ।
धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ । राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयबाट बिहीबारदेखि सुरु भएको सिक्का बिक्री आज पनि जारी रहनेछ ।
चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदै छ ।
पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो । आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।
त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ ।
मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलनसमेत छ । यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ ।
धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइपूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छ ।

















प्रतिक्रिया