२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै



काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ । यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने परम्परा छ ।

धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ । यही परम्पराअनुसार धनतेरसका अवसरमा बजारमा सुनचाँदीका गरगहना तथा विभिन्न धातुका सामग्रीको किनमेल हुने गर्छ ।

धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ । राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयबाट बिहीबारदेखि सुरु भएको सिक्का बिक्री आज पनि जारी रहनेछ ।

चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदै छ ।

पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो । आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ ।

मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलनसमेत छ । यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ ।

धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइपूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ८ : ०३ बजे

बुटवलमा आजदेखि तीनदिने दीपावली सडक खाना महोत्सव

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

रविको प्रश्नपछि बालेनको जवाफ : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी । फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही