२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ। भेटका क्रममा संसद्को अधिवेशन आह्वान, संसद्को नियमित सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको राष्ट्रपतिलाई जानकारी गराएका थिए। संसद्लाई नियमित, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा पनि दुवैबीच विचारविमर्श भएको सभामुखको सचिवालयले जनाएको छ।

पछिल्लो समय विपक्षी दलहरूले संसद् बैठक आह्वान गर्न सरकारलाई दबाब दिइरहेका छन्। सरकारले अध्यादेशमार्फत विभिन्न निर्णय अघि बढाइरहेको अवस्थामा राष्ट्रपति र सभामुखबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटका क्रममा सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि उनले राष्ट्रपतिलाई अवगत गराएका थिए।

सभामुख अर्यालले सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभा पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे समेत जानकारी गराएका थिए।

भेटमा राष्ट्रपति पौडेलले संसद्मा धेरैभन्दा धेरै बहस र छलफल हुन सके लोकतन्त्र थप बलियो हुने धारणा राखेका थिए। संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीबारे पनि चासो व्यक्त गरेका थिए।

भेटवार्तामा संसद्को प्रभावकारी भूमिका, लोकतान्त्रिक अभ्यास र समसामयिक राजनीतिक परिस्थितिका विषयमा थप छलफल भएको दुवै पक्षका सचिवालयले जनाएका छन्।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १ : ०३ बजे

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह

ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने आँकलन

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच