२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

तिहारमा मिठाई र बत्तीको व्यापार



सुनसरी । तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

धरान उपमहानगरपालिका-२ का नकुल दास बिहान ५ः०० देखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलीमिली बत्तीलगायत तिहारका सामग्री बिक्री गर्दै तिहार खर्च जुटाइरहेका छन ।

उनले भने, “बिहान र साँझ बजार राम्रो चल्छ । दिउँसो घाम धेरै लाग्दा ग्राहक कम आउँछन्, तर साँझपख भीडभाड बढ्छ । सबैभन्दा बढी बिक्री त्यतिबेलै हुन्छ । अहिले दैनिक रु २० देखि रु ३० हजारसम्मको कारोबार भइरहेको छ तिहार खर्च यसै व्यापारबाट जोहो गर्ने हो ।”

तिहार नजिकिएसँगै धरानका मुख्य बजार तथा सडकपेटीमा अहिले सानाठूला व्यापारी तिहारका सामग्री बिक्री गर्न व्यस्त छन् । दियो, रङ, मिठाई, किसमिस, पूजाका लागि प्रयोग हुने माटाका पाला, फूलमाला, झिलीमिली बत्ती र अबिरलगायत सामग्री बिक्रीका लागि राखिएका छन् । बजारका हरेक गल्ली र सडकपेटीमा खुलेका सानासाना अस्थायी पसलमा बिहानदेखि साँझसम्म ग्राहकको घुइँचो लाग्ने गरेको छ ।

दसैँपछि नेपालीको दोस्रो ठूलो पर्वका रूपमा चिनिने तिहारलाई फूलमाला, रङ र उज्यालोको पर्वका रूपमा पनि लिने गरिन्छ । यस अवसरमा घर सजाउने, दियो बाल्ने, मिठाई तथा मसला किन्ने र झिलीमिली बत्तीले घर उज्यालो बनाउने चलन छ । त्यसैले तिहारमा अन्य समयको तुलनामा यस्ता सामग्रीको माग र बिक्री बढी हुने गरेको व्यापारी बताउँछन् ।

धरान सब्जीमन्डीका झिलीमिली बत्तीका व्यापारी राजन कोइरालाले पछिल्लो समय परम्परागत रूपमा दियो बाल्ने चलन घट्दै गएको र आधुनिक झिलीमिली बत्तीको माग बढेको बताए । उनले भने, “अहिले झिलीमिली बत्तीको बिक्री राम्रो छ । अन्य चाडपर्व र विवाहको मौसममा थोरैमात्र बिक्री हुने भए पनि तिहारमा अत्यधिक बिक्री हुन्छ ।”

अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलसम्मका व्यापारीले समेत मौसमी व्यापारका रूपमा झिलीमिली बत्ती बिक्री गरिरहेका छन् । व्यापारीले दसैँ आउनुभन्दा केही महिनाअघि नै तिहारलाई लक्षित गरी बत्ती ल्याउने गरेका छन् । पछिल्ला केही दिनयता भने दैनिक ठूलो परिमाणमा झिलीमिली बत्ती बिक्री भइरहेको व्यापारी कोइरालाले बताए ।

धरानको मुख्य बजार, भानुचोक, सब्जीमण्डी र पुरानो बजारलगायत क्षेत्रमा बत्ती, फूलमाला तथा तिहारका अन्य सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ । तिहारका लागि आवश्यक सामग्री खरिद गर्न आउने सर्वसाधारणको भीडले बजार थप व्यस्त बनेको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहार सुरु भएसँगै बजार सक्रिय बनेको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्ने अवसर पाएको बताए । उनले भने, “तिहारमा विशेषगरी सडकपेटी र गल्लीमा पसल सञ्चालन गर्दा भीड र सडक व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिने गरेको छ । कहिलेकाहीँ भीडका कारण पसल वरिपरि आवागमन गर्नसमेत कठिन हुन्छ । यस्तो अवस्थामा सङ्घले प्रशासनसँग समन्वय गरेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेको छ ।”

सडकपेटीमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरी ग्राहक तथा व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्ने काम भइरहेको उनले बताए । तिहारको समयमा साना व्यापारीले पनि केही दिनको व्यापारबाट आम्दानी गर्ने अवसर पाउने भएकाले यसले सहरको स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने महासचिव खतिवडाको भनाइ छ । बजारमा ग्राहकको चहलपहल बढेसँगै साना व्यापारीमा पनि उत्साह भने थपिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ८ : १९ बजे

तिहारमा मिठाई र बत्तीको व्यापार

सुनसरी । तिहार सुरु भएसँगै चहलपहल निकै बढेको छ ।

सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

काठमाडौं । सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

जुम्ला । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा