काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिमले लो स्कोरिङ खेलमा महत्वपूर्ण जित निकालेको हो।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९।५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो। जनकपुरका लागि तृत राज दासले सर्वाधिक २१ रन बनाए। जिमी निशमले २०, राहुल यादवले ११ तथा आदित्य महताले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जनकपुरको इनिङ्समा अनिल शाह २, हेरी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हर्मित सिंह ४ र अभिषेक तिवारी २ रनमा आउट भए। ललित राजवंशी खाता नखोल्दै पभेलियन फर्किए। नवौँ विकेटका लागि जिमी निशम र ललित राजवंशीले गरेको २० रनको साझेदारी जनकपुरको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो।
सुदूरपश्चिमका स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिए। हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे। थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्काको मद्दतमा अविजित २७ रन बनाए। आरिफ शेखले ११ तथा ओपनर सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे।
जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए। नियमित अन्तरालमा विकेट गुमाएको सुदूरपश्चिमले त्यसपछि ठूलो साझेदारी गर्न नसक्दा सामान्य योगफलमै सीमित भएको थियो।
जनकपुरका कप्तान हर्मित सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १ विकेट लिए। यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आयरल्यान्डका खेलाडी हेरी टेक्टरले ४ ओभरमा ९ रन मात्र खर्चिएका थिए।
यस जितसँगै ६ खेलमा ४ जित निकालेको सुदूरपश्चिम ८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक रहेको शीर्ष स्थानको काठमाडौं गोर्खाजभन्दा सुदूरपश्चिम रनरेटमा पछाडि छ। सुदूरपश्चिमको प्लेअफ यात्रा पनि थप बलियो बनेको छ।
अर्कोतर्फ, ६ खेलमा चौथो हार बेहोरेको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स ४ अंकसहित पाँचौँ स्थानमा छ। लगातारको कमजोर प्रदर्शनले जनकपुरको प्लेअफ सम्भावनामा दबाब बढाएको छ।

















प्रतिक्रिया