काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ खेल मध्ये ४ वटा खेल प्रदेश बाहिर, ५ खेल प्रदेश राजधानी बाहिर र २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ।
प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते सोही स्थानमा हुनेगरि तय गरिएको छ।
अनुमोदित तालिकाअनुसार औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेलको प्रतिस्पर्धा सुरु भइसक्नेछ।
सुर्खेतमा एथलेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी, साइक्लिङकराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङ, ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ। यसबाहेक कबड्डी, आर्चरी, भारोत्तोलन, ई(स्पोर्ट्स र सेपाकताक्रो गरी कुल २३ खेल पनि सुर्खेतमै सम्पन्न हुने तय भएको छ।
कर्णाली प्रदेशका दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेल आयोजना गरिनेछन्।
कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेल लुम्बिनी प्रदेशका बाँके र बर्दियामा गर्ने तय गरिएको छ जसअनुसार पौडी र सुटिङका खेल नेपालगञ्जमा आयोजना हुनेछन् भने टेनिस र खो(खोका खेल बर्दियामा खेलाइने तय भएको छ।

















प्रतिक्रिया