काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताएका छन्।
कतारको दोहामा आयोजित आइटियुको महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी भएर स्वदेश फर्किएका मन्त्री तिमिल्सिनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा नेपालले डिजिटल विभाजन न्यूनीकरण र प्रविधिको पहुँच विस्तारका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा स्पष्ट रूपमा राखेको जानकारी दिए।
उनका अनुसार सम्मेलनमा उदीयमान प्रविधिको उपयोगमार्फत विकासशील तथा अल्पविकसित मुलुकमा देखिएको डिजिटल विभाजन कम गर्ने, सूचना प्रविधिको पहुँच विस्तार गर्ने र डिजिटल रूपान्तरणलाई समावेशी बनाउने विषयमा नेपालको धारणा प्रस्तुत गरिएको थियो।
सम्मेलनका क्रममा सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति गरेका विभिन्न मुलुकसँग आगामी दिनमा सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको उनले बताए।
मन्त्री तिमिल्सिनाले मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसलगायत देशका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता भएको जानकारी दिए। ती भेटवार्तामा नेपालको आवश्यकता र प्राथमिकताअनुसार सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा सहयोग, प्रविधि हस्तान्तरण र साझेदारीका सम्भावनाबारे विचारविमर्श भएको उनले बताए।
‘सूचना प्रविधिका क्षेत्रमा पहुँच विस्तार हुँदै जानुपर्नेमा विभिन्न कारणले त्यो पहुँच खुम्चिँदै गएको पनि पाइएको छ। सूचना प्रविधिको पहुँच कसरी विस्तार गर्ने भन्ने विषयमा द्विपक्षीय छलफल भयो,’ उनले भने।
सम्मेलनमा बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्का समयमा सञ्चार प्रणालीलाई अविच्छिन्न रूपमा सञ्चालन गर्ने विषयले पनि प्राथमिकता पाएको मन्त्री तिमिल्सिनाले जानकारी दिए। विपद्का बेला सूचना तथा सञ्चार प्रणालीको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्दै उनले नेपालको तर्फबाट यस विषयमा नीतिगत मन्तव्य प्रस्तुत गरेका थिए।
मन्त्री तिमिल्सिनाले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी र प्रविधिमा असमान पहुँचका कारण विकासशील मुलुकहरू थप पछाडि पर्ने जोखिम रहेको उनको भनाइ थियो।
कृत्रिम बौद्धिकता (एआई) र फाइभजीजस्ता उदीयमान प्रविधिमा पहुँचको असमानताले डिजिटल विभाजनको नयाँ स्वरूप सिर्जना गरिरहेको उल्लेख गर्दै उनले डिजिटल रूपान्तरणका लाभ सबै देश र समुदायसम्म समान रूपमा पुर्याउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) दूरसञ्चार क्षेत्रको विश्वव्यापी नीति निर्माण, मापदण्ड निर्धारण र अन्तर्राष्ट्रिय समन्वयमा काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय हो। यसमा विश्वका १९४ राष्ट्र सदस्य छन्।

















प्रतिक्रिया