काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।
विभिन्न उच्चपदस्थ व्यक्तिहरूसँगको सम्बन्धका आधारमा ‘सेटिङ’ मिलाएर काम गराउने आरोप लागेका इनम सापकोटासँग कनेक्सन देखिएको भन्दै प्रहरीले महेशलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार महेशलाई शनिबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले उनको पक्राउबारे पुष्टि गरेका छन् ।
यसअघि गत असोज ११ गते पक्राउ परेका इनम सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणलगायतका विषयमा अनुसन्धान गरिरहेको छ । सापकोटासँग सम्पर्क र सम्बन्ध देखिएका अन्य व्यक्तिहरूमाथि समेत प्रहरीले निगरानी बढाएको बताइएको छ ।
यसैबीच, यसअघि सार्वजनिक भएको भनिएको एक अपुष्ट अडियोमा कांग्रेस नेता उमेश श्रेष्ठको नामसमेत जोडिएको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग सम्बन्ध रहेको बताइएका सापकोटाले उक्त अडियोमा उमेश श्रेष्ठको नाम लिएको दाबी गरिएको छ ।
यद्यपि, उक्त अडियोको आधिकारिकता र त्यसमा उल्लेख गरिएका व्यक्तिहरूको संलग्नताबारे स्वतन्त्र पुष्टि भएको छैन ।
इनम सापकोटासँग जोडिएका विभिन्न व्यक्ति तथा सम्पर्क सञ्जालबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । महेश श्रेष्ठको पक्राउलाई पनि सोही अनुसन्धानको सन्दर्भमा हेरिएको छ ।
















प्रतिक्रिया