चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं गएका चितवन राइनोजका दर्शक खेल सकिनै लाग्दा पुगे । खेल सकिएपछि चितवनसम्म आइपुग्न १२ घण्टाभन्दा बढी सडकमा समय बिताउनुपर्यो ।
यो सबै समस्या पृथ्वी राजमार्गमा घोप्टेभिरको पहिरोका कारण भएको हो । चलिरहेका सवारी कतिबेला पहिरोले रोक्छ भन्नसक्ने अवस्था छैन । मुग्लिन बजारबाट झण्डै तीन किलोमिटर कुरिनटारतर्फ घोप्टेभिरमा झण्डै ३० मिटर माथिबाट सुक्खा पहिरो खसिरहेको छ । यसै कारण गन्तव्यमा पुग्ने निश्चितता सडकमा नभएको यात्रुको गुनासो छ ।
काठमाडौंबाट शनिबार चितवनतर्फ आउँदै गरेका सरोज रेग्मी कुरिनटार आइपुग्दा लामो सवारी जाम देखिएपछि तर्सिए । उनले भने, “साँझ नपर्दै घोप्टेभिर पार गर्ने भनेर हतारहतार आएको यही रोकिन पर्यो ।” झण्डै एक घण्टाको पर्खाइपछि उहाँले सडक पार गर्नुभयो । वबेलाबेलामा ढुङ्गा खसिरहँदा गन्तव्यसम्म पुग्ने अनिश्चितता र जोखिम उत्तिकै बढी छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले समयसमयमा ढुङ्गा सहितको पहिरो खसिरहेकोबताए । सडक सफा गरेर सवारी पार गराउने गरिएको छ । शनिबार सडक रोकेर दुईतर्फी बनाइएको भए पनि आज बिहान पहिरो खसेर एकतर्फी सडक सञ्चालनमा आएको उनले जानकारी दिए ।
प्रहरी उपरीक्षक पौडेलले भने, “आज केहीबेर रोकिएको सडक एकतर्फी भएको छ । सवारी चाप घटेपछि केहीबेर रोकेर दुईतर्फी बनाउनुपर्छ ।” सडक रोकिँदा सवारी चालकले लेन मिच्ने समस्याका कारण सडक खुलेपछि पनि लामो समय सवारी जाम हुने गरेको उनले बताए ।
तिहारको भाइटिकाको अघिल्लो दिन राति ११स्०० बजेसम्म आफू र ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापा सडकमा बसेर सवारी पार गराएको उनको भनाइ छ । उनले भने, “सावधानीकै कारण अहिलेसम्म ठूलो दुर्घटना हुन पाएको छैन ।” सबैलाई ट्राफिक नियम पालना गरेर सावधानीपूर्वक यात्रा गर्न भनिएको उनले बताए ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार सडकको छेउको डाँडो कमजोर भएर सुक्खा पहिरो खसिरहेको हो । तत्काल अहिले भइरहेको सडक विस्तारको ठेक्काबाट दीर्घकालीन समाधान निकाल्ने गरी काम गर्न नसकिने भएकाले पहिरो पन्छाउने काम मात्र भइरहेको उनले बताए। जतिसक्दो जोखिमपूर्ण पहिरो खसेर जोखिम कम गर्नेबाहेकको विकल्प अहिले तत्काल नभएको उनको भनाइ छ ।
यस पहाडको पहिरो रोकथामको दीर्घकालीन समाधानका लागि अध्ययन गरेर काम गरिने उनले बताए । पहिरो स्थलमा रातको समयका लागि बत्ती जडान गरिएको छ भने पहिरो खसेमा तत्काल पन्छाउन सक्नेगरी उपकरण र जनशक्ति तैनाथ अवस्थामा निर्माण कम्पनीले राखेको मिश्रले जानकारी दिए ।
यो सडक हुँदै १५ हजारभन्दा बढी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् । सवारी उच्च चाप हुने यस सडक थोरै समय रोकिँदा पनि सवारीको लाम लामो हुने गर्दछ । अत्यावश्यक कामका लागि हिँडेका यात्रु लामो समय सडकमा रहनुपर्दा आफ्ना अत्यावश्यक काम गर्नबाट बञ्चित हुने गरेका छन् ।
















प्रतिक्रिया