४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी र भगवान् विष्णुको विशेष पूजा गरिँदै



काठमाडौं । कार्तिक शुक्ल एकादशीका अवसरमा आज देशभर हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । औषधीय गुणले भरिपूर्ण तुलसीको पूजा आराधना गरी भगवान् विष्णुको विशेष उपासना गरेर यो पर्व मनाउने वैदिक सनातन परम्परा छ ।

हरिबोधिनी एकादशीका दिन तुलसी र भगवान् दामोदर (विष्णु) को विवाह गराई विशेष पूजा गर्ने चलन छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिना भगवान् विष्णुका भक्तजनले तुलसीको व्रत बसी विशेष पूजा आराधना गर्ने परम्परा छ । यस अवधिमा भगवान् विष्णु शयन गर्ने भएकाले विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने चलन रहेको छ । वर्षायाममा नदी तथा खोलामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको जोखिम हुने भएकाले यस अवधिमा लामो यात्रा नगर्नु शुभ मानिने धार्मिक विश्वाससमेत छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर पूजा गरिएको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर आज भगवान् विष्णुसँग तुलसीको विवाह गराइन्छ । तुलसी भगवान् विष्णुलाई प्रिय भएकाले तुलसी विवाहको परम्परा बसेको धार्मिक मान्यता छ । तुलसीको मठनजिकै भगवान् विष्णुको प्रतीकका रूपमा निगालो गाडेर विधिपूर्वक पूजा गर्ने चलनसमेत छ ।

कार्तिक महिनाभर सबै देवीदेवताको वास तुलसीमा हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले बताए ।

आदिकालदेखि पूजिँदै आएको तुलसीको धार्मिक महत्त्वसँगै औषधीय गुण पनि रहेको छ । तुलसीको मठ भएको घरलाई तीर्थस्थलसरह मान्ने धार्मिक विश्वास छ । तुलसीको सुगन्धले वातावरण पवित्र बनाउने र यसको उपस्थितिले घरमा सकारात्मक ऊर्जा प्रवाह हुने जनविश्वासका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउने गरेका छन् ।

तुलसीको पात, डाँठ तथा फूलको रस परम्परागत रूपमा रुघाखोकीलगायत सामान्य स्वास्थ्य समस्यामा प्रयोग हुँदै आएको छ । आयुर्वेदमा समेत तुलसीलाई महत्त्वपूर्ण औषधीय वनस्पतिका रूपमा लिइन्छ । शरद ऋतुमा तुलसीको प्रयोग स्वास्थ्यका दृष्टिले लाभदायक मान्ने परम्परा पनि छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउने र भगवान् विष्णुलाई एक लाख तुलसीपत्र अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा भगवान् विष्णुलाई एउटा तुलसीपत्र अर्पण गर्दा १० हजार गाई दान गरेबराबरको पुण्य प्राप्त हुने व्याख्या गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने प्रचलन पनि छ । रातिको समयमा ‘गोविन्द उठ्नुस्, तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर भगवान् विष्णुलाई जगाउने धार्मिक विधि गरिन्छ ।

यस दिन गरिने एकादशी व्रतलाई मानव शरीरका पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय र मन गरी ११ इन्द्रियलाई संयमित बनाउने साधनाका रूपमा लिइन्छ । चार महिनासम्म उपासना गरी श्रद्धा र भक्तिपूर्वक हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुको विशेष पूजा गर्दा इन्द्रिय नियन्त्रणमा सहयोग पुग्ने धार्मिक विश्वास छ ।

आजको दिन किसानले उखुको बोट तुलसीको मठमा गाडेर पूजा गर्ने चलन छ । एकादशीका दिन अन्न सेवन नगर्ने परम्पराअनुसार व्रतालुहरूले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गर्ने गर्छन् । यसरी व्रत बस्दा पाप नाश भई पुण्य प्राप्त हुने र मोक्ष मिल्ने धार्मिक विश्वास छ ।

ठूलो एकादशीका रूपमा समेत परिचित यस पर्वको व्रतले हजार अश्वमेध यज्ञ र राजसूय यज्ञ गरेसरह फल प्राप्त हुने शास्त्रीय मान्यता छ । कार्तिक महिनामा भगवान् विष्णुको स्मरण गर्दै स्नान, दान, जप र होम गर्नाले पुण्य प्राप्त हुने तथा जन्मजन्मान्तरका पापबाट मुक्ति मिल्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

हरिबोधिनी एकादशीका अवसरमा काठमाडौं उपत्यकाका चार नारायण मन्दिरसहित देशभरका विभिन्न नारायण मन्दिरमा विशेष पूजा तथा मेला आयोजना गरिन्छ । भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायणमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ ।

चार नारायणको दर्शन गर्न नसक्नेले काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चारै नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने नारायणस्थान मठका मठाधीश स्वामी निगमानन्दले बताए । बूढानीलकण्ठमा भगवान् हरि (विष्णु) र हर (शिव) दुवैको मूर्ति रहेको छ । एउटै विशाल शिलामा विष्णु र शिवको मूर्ति कुँदिएको यस स्थानलाई धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यही विशेषताका कारण यहाँ वर्षेनि लाखौँ भक्तजन तथा पर्यटक पुग्ने गरेका छन् ।

आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको हवन गर्न साइत हेरिरहनु नपर्ने धार्मिक मान्यता छ । त्यसपछि भने साइत जुराएर मात्रै तुलसी पूजा उद्यापन तथा हवन गर्ने विधि रहेको छ । यससँगै चार महिनादेखि चल्दै आएको तुलसी पूजाको विशेष व्रत समापन हुने धार्मिक परम्परा छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ८ : ०२ बजे

Your email address will not be published.

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक शौचालयलाई

एसिया कप राइजिङ स्टार्समा आज नेपाल र भारत ‘ए’ भिड्दै

काठमाडौं । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ

सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

काठमाडौं । निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ