काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्रबहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका हुन् ।
उनले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि नभई पार्टीको पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणका लागि भएको स्पष्ट पारे। पार्टीमा लामो समयदेखि नेतृत्व गर्दै आएका अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकीकृत गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
शाहीले राप्रपा पटकपटक आफ्नो विचार र सिद्धान्तसँग मेल नखाने दलहरूसँग चुनावी तालमेल तथा सत्ता समीकरणमा सहभागी हुँदा कमजोर बन्दै गएको टिप्पणी गरे । सत्ता र पदका लागि अन्य दलसँग सम्झौता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।
‘अब राप्रपा कसैको चुनावी गोटी बन्ने छैन, कसैको सत्ताप्राप्तिको सिँढी बन्ने छैन,’ उनले भने, ‘राप्रपा आफ्नो विचार, सिद्धान्त र राजनीतिक पहिचानका आधारमा सशक्त राष्ट्रवादी शक्तिका रूपमा अगाडि बढ्नेछ ।’
उनले पार्टीभित्र गुट र उपगुटको राजनीति अन्त्य गरी सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेताहरूलाई सम्मानपूर्वक अभिभावकीय भूमिकामा राख्नुपर्ने प्रस्ताव उनले अघि सारे ।
शाहीले पार्टीमा ‘सर्वोच्च नेता’ पद सिर्जना गर्ने प्रस्तावसमेत गरेका छन् । अध्यक्षभन्दा वरिष्ठ भूमिकामा रहने गरी शीर्ष नेताहरूलाई जिम्मेवारी दिन विधानमै व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, प्रदेश संरचना खारेज, वैदिक सनातन हिन्दु अधिराज्य स्थापना, राजसंस्थाको पुनःस्थापना, सुशासन, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतासम्बन्धी पार्टीका मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
पत्रकारहरूको प्रश्नको जवाफ दिँदै शाहीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी निश्चित भइसकेको बताए । पार्टीभित्र तीनवटा गुट रहेको भन्ने चर्चाबारे प्रतिक्रिया दिँदै उनले आफ्नो एउटै गुट राप्रपा मात्रै भएको बताए ।
उनले आफू अध्यक्षको उम्मेदवार भए पनि अन्य नेताहरूले उम्मेदवारी दिएमा उनीहरूलाई पनि साथ र समर्थन रहने उल्लेख गरे । आगामी महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीको राजनीतिक भविष्य र आगामी निर्वाचनको तयारीसँग जोड्नुपर्ने उनको भनाइ छ ।
















प्रतिक्रिया