७ मंसिर २०८३, सोमबार | November 23, 2026

कोप-३१ सम्पन्न : जलवायु सहकार्य जारी राख्न आग्रह



काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप-३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन ।

टर्किएको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार आयोजित कोप-३१ को समापन समारोहमा सम्बोधन गर्दै कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेको अवस्थामा अन्तरराष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा प्रभाव गम्भीर बन्दै गएको, जीवाश्म इन्धनको लागतले अर्थतन्त्रमा मुद्रास्फीति बढाइरहेको र विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम नजिकिँदै गएको उल्लेख गरे ।

“विश्वले यस्तो अवस्थाको पुनरावृत्ति धान्न सक्दैन । हाम्रो प्रक्रिया, नियमावली र स्थापित नजिरहरू विश्वका करिब २०० देशलाई एकै ठाउँमा ल्याउनका लागि बनाइएका हुन्”, उनले भने ।

कार्यकारी सचिव स्टिलले विगत एक दशकमा जलवायु वार्तामार्फत तापक्रम वृद्धिको लक्ष्य निर्धारण, नयाँ जलवायु वित्त लक्ष्य तय, जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपान्तरण तथा अनुकूलनसम्बन्धी विश्वव्यापी लक्ष्य निर्धारणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

कार्यकारी सचिव स्टिलले कोप प्रक्रिया १९४ पक्ष राष्ट्रहरूको साझा भएकाले सहमतिका लागि सबै पक्षका विचारलाई पारदर्शी रूपमा सुन्ने र विगतका उपलब्धिलाई आधार बनाएर अघि बढ्ने पद्धति आवश्यक रहेको धारणा व्यक्त गरे । जलवायु वार्ताको प्रक्रियालाई सुधार, आधुनिकीकरण र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले विश्व अहिले प्रतिबद्धता जनाउने चरणबाट कार्यान्वयनको युगमा प्रवेश गरिसकेको बताए । त्यसैले बदलिँदो परिस्थितिअनुसार अन्तरराष्ट्रिय जलवायु वार्ताको प्रक्रियालाई पनि विकसित गर्नुपर्ने उनको भनाइ थियो ।

कोप–३१ अन्तर्गत वार्ताका क्रममा अपेक्षित सहमति कायम हुन नसके पनि कार्यसूची ९एक्सन एजेन्डा० अन्तर्गत भने महत्त्वपूर्ण प्रगति भएको कार्यकारी सचिव स्टिलले उल्लेख गरे । कृषि तथा खाद्य प्रणालीको रूपान्तरणदेखि सहर तथा पूर्वाधारको उत्थानशीलता अभिवृद्धिसम्मका छवटा प्रमुख कार्यक्षेत्रमा ठोस उपलब्धि हासिल भएको उनले बताए ।

विभिन्न देशका प्रतिबद्धता तथा नेताहरूको शिखर सम्मेलनमार्फत विश्व अर्थतन्त्रको करिब आधा हिस्सा विद्युतीकरणलाई तीव्रता दिन अग्रसर भएको देखिएको कार्यकारी सचिव स्टिलले उल्लेख गरे । कोप-३१ को विद्युतीकरण कार्यान्वयन प्याकेजले पनि वास्तविक अर्थतन्त्रमा महत्त्वपूर्ण प्रगति गरेको उनको भनाइ थियो ।

यी उपलब्धिले नवीन प्रविधि, लगानी र सकारात्मक परिवर्तनलाई गति दिने विश्वास व्यक्त गर्दै कार्यकारी सचिव स्टिलले अन्ताल्यामा भएका प्रगतिले आगामी दिनमा थप महत्त्वाकाङ्क्षी जलवायु परिणाम हासिल गर्ने प्रतिबद्धतालाई बलियो बनाउने बताए । कार्यकारी सचिव स्टिलले विगतमा पनि जलवायु वार्ता प्रक्रियाले विभिन्न अवरोध र असफलता सामना गरे पनि पुनः सशक्त रूपमा अघि बढेको स्मरण गराउँदै यसपटक पनि त्यस्तै हुनुपर्ने बताए ।

आगामी कोप-३२ लाई महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै कार्यकारी सचिव स्टिलले दोस्रो विश्वव्यापी समीक्षा ९ग्लोबल स्टकटेक–२०ले पहिलो समीक्षाका उपलब्धिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । पहिलो समीक्षाबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने नभई थप प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।

कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी अभियानमा नागरिक समाजको भूमिका अहिले झन् महत्त्वपूर्ण भएको बताउँदै सरकार, नागरिक समाज र अन्तरराष्ट्रिय समुदायलाई सहकार्यको गति कायम राख्न आग्रह गरे ।

दुई सातासम्म चलेको सम्मेलन सफल बनाउन योगदान पुर्याउने टर्की सरकार तथा जनता, कोप अध्यक्षता, वार्ता अध्यक्षता र संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयका कर्मचारीलाई धन्यवाद दिँदै उनले जलवायु सहकार्यले विगतका कोप सम्मेलनमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । विश्वलाई विनासकारी तापक्रम वृद्धिको बाटोबाट बाहिर निकाल्न जलवायु सहकार्यले महत्त्वपूर्ण योगदान पुर्याए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको निष्कर्ष थियो । “जलवायु परिवर्तनविरुद्धको सङ्घर्ष जारी रहनेछ, हामी कहिल्यै हार मान्नेछैनौँ”, उनले भने ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ८ : ११ बजे

Your email address will not be published.

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख

कोप-३१ सम्पन्न : जलवायु सहकार्य जारी राख्न आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

बुटवल । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै लुम्बिनी क्षेत्रमा नयाँ

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

नयाँदिल्ली । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहेका