७ मंसिर २०८३, सोमबार | November 23, 2026

जलवायु सम्मेलन निष्कर्षविहीन, गुटेरेसले व्यक्त गरे गहिरो निराशा



काठमाडौँ । जलवायु परिवर्तनको गम्भीर संकट समाधानका लागि विश्व समुदायबीच साझा सहमति कायम हुन नसकेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निराशा व्यक्त गरेका छन् ।

टर्कीको अन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन (COP31) निष्कर्षविहीन बनेपछि आइतबार जारी वक्तव्यमा गुटेरेसले सदस्य राष्ट्रहरूबीच आवश्यक सामूहिक प्रतिबद्धता र निर्णयमा सहमति जुट्न नसकेकोप्रति दुःख व्यक्त गरेका हुन् ।

जलवायु संकटको गम्भीरतालाई आत्मसात् गर्दै सरकारले आवश्यक कदम चाल्ने अपेक्षा गरेका विश्वभरका मानिसको निराशासँग आफू सहमत रहेको उनले बताएका छन् ।

सम्मेलनका अध्यक्ष मुरात कुरुमले समापन सत्रमा प्रस्तावित अन्ताल्या सम्झौतामा सहमति जुट्न नसकेको जानकारी दिएका थिए । शुक्रबार सम्पन्न हुनुपर्ने सम्मेलन निर्धारित समयभन्दा करिब दुई दिन लम्बिए पनि साझा निष्कर्षमा पुग्न सकेन । आइतबार सम्झौताको तेस्रो मस्यौदासमेत सार्वजनिक गरिएको थियो ।

गुटेरेसले सम्मेलनमा सहमति नजुटे पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यमा कुनै अस्पष्टता नरहेको उल्लेख गरेका छन् । विश्व तापक्रम निरन्तर बढिरहेको, जलवायुजन्य चरम घटनाहरू तीव्र बन्दै गएको र हरितगृह ग्यास उत्सर्जन उच्च रहिरहेको उनले बताएका छन् ।

जलवायु संकट समाधानमा हुने प्रत्येक ढिलाइले आगामी चुनौती थप जटिल र खर्चिलो बनाउने भन्दै उनले तत्काल प्रभावकारी कदम चाल्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

औद्योगिक क्रान्तिअघिको तुलनामा विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कठिन बन्दै गएको उल्लेख गर्दै गुटेरेसले उक्त सीमा नाघ्ने अवस्था आए पनि त्यसको अवधि र प्रभाव न्यून राख्ने अवसर तीव्र रूपमा साँघुरिँदै गएको चेतावनी दिएका छन् ।

जलवायु संकटको प्रमुख कारक जीवाश्म इन्धनमाथिको निर्भरता अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले कोइला, तेल र ग्यासको निरन्तर प्रयोगले जलवायु अस्थिरता बढाउनुका साथै अर्थतन्त्रमा मूल्यवृद्धि र ऊर्जा सुरक्षाको चुनौती थपिरहेको बताएका छन् । जीवाश्म इन्धनसँग सम्बन्धित शक्तिशाली व्यावसायिक समूहहरूले वैज्ञानिक तथ्यलाई प्रभावित पार्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने र जलवायु संरक्षणका प्रयासमा अवरोध सिर्जना गर्ने गरेको आरोपसमेत उनले लगाएका छन् ।

दुबईमा सम्पन्न COP28 मा जीवाश्म इन्धनको प्रयोगबाट न्यायोचित, व्यवस्थित र समतामूलक ढंगले क्रमशः बाहिरिने सहमति भएको स्मरण गराउँदै गुटेरेसले त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।

१.५ डिग्री तापक्रम वृद्धिको लक्ष्य जोगाउन यसै दशकभित्र हरितगृह ग्यास उत्सर्जनमा तीव्र र उल्लेखनीय कटौती आवश्यक रहेको उनको भनाइ छ । यसका लागि प्रमुख उत्सर्जक राष्ट्रहरूले नेतृत्व लिनुपर्ने, विकसित देशहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने तथा सबै राष्ट्रले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने उनले बताएका छन् ।

विकसित मुलुकहरूले जलवायु अनुकूलनका लागि उपलब्ध गराउने वित्तीय सहयोग तीन गुणा वृद्धि गर्ने प्रतिबद्धता पूरा गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । जलवायु संकटमा न्यून योगदान रहेका विकासशील तथा कमजोर राष्ट्रहरूले यसको ठूलो असर भोग्नुपर्ने अवस्था जलवायु न्यायको दृष्टिले स्वीकार्य नहुने उनले उल्लेख गरेका छन् ।

गुटेरेसका अनुसार जलवायु सम्मेलनका वास्तविक उपलब्धि छलफल र प्रतिबद्धतामा मात्रै सीमित हुनु हुँदैन, तिनको व्यावहारिक कार्यान्वयनबाट मापन गरिनुपर्छ । जीवाश्म इन्धनको निर्भरता घटाउने, स्वच्छ ऊर्जा विस्तार गर्ने, विद्युत् प्रसारण प्रणाली आधुनिकीकरण गर्ने, मिथेन उत्सर्जन न्यूनीकरण गर्ने, वन पुनर्स्थापना गर्ने र विकासशील मुलुकहरूमा जलवायु वित्तको पहुँच सुनिश्चित गर्ने कामलाई उनले प्राथमिकतामा राखेका छन् ।

महासचिवले नागरिक समाज, युवा, आदिवासी समुदाय, वैज्ञानिक तथा जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका समुदायलाई संरक्षणका प्रयासमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

जलवायु संकटले सरकारहरूबीच सहमति पर्खेर नबस्ने भन्दै उनले वैज्ञानिक तथ्यको प्रचार, सरकार तथा निजी क्षेत्रको जवाफदेहिता र जलवायु न्यायका पक्षमा विश्व समुदायले निरन्तर आवाज उठाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ७ : १० बजे

Your email address will not be published.

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र

जलवायु सम्मेलन निष्कर्षविहीन, गुटेरेसले व्यक्त गरे गहिरो निराशा

काठमाडौँ । जलवायु परिवर्तनको गम्भीर संकट समाधानका लागि विश्व समुदायबीच

प्रधानमन्त्री बालेन्द्र र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति

नेपाल-भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको प्रस्ताव

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सम्बन्धलाई नयाँ