बुटवल । सहरी फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेका बेला बुटवलमा शौचालयबाट निस्कने फोहोर र गाईवस्तुको गोबर प्रशोधन गरेर जैविक मल उत्पादन गर्न थालिएको छ । फोहोरलाई समस्याका रूपमा मात्र नभई उपयोगी स्रोतका रूपमा प्रयोग गर्ने उद्देश्यसहित बुटवल सेनिटरी प्रा.लि अन्तर्गत नेपाल बायो कम्पोष्टले यस्तो अभ्यास सुरु गरेको हो ।
कम्पनीले शौचालयबाट संकलन हुने फोहोरलाई गाईवस्तुको गोबरसँग मिसाएर प्रशोधन गरी कृषि प्रयोजनमा उपयोग गर्न सकिने जैविक मल उत्पादन गर्दै आएको छ । यसले एकातिर शौचालयजन्य फोहोरको उचित व्यवस्थापनमा सहयोग पुर्याएको छ भने अर्कोतिर रासायनिक मलको विकल्पका रूपमा जैविक मल उत्पादनको सम्भावनासमेत देखाएको छ ।
नेपाल बायो कम्पोष्टले घरघरका शौचालयबाट संकलन गरिएको फोहोरलाई विभिन्न जैविक पदार्थसँग मिसाएर मल बनाउने गरेको छ । प्रशोधनका क्रममा मेसिनको सहायताले फोहोरबाट धुलो निकालिन्छ । त्यसमा वनमारा, धुलो, पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो र ब्याक्टेरियाको विकासमा सहयोग गर्ने इएम (EM) मिसाइन्छ । उक्त मिश्रणलाई करिब ४५ दिनसम्म कुहाउने प्रक्रियाबाट मल तयार गरिन्छ ।
यसरी उत्पादन गरिएको मललाई सुनवलस्थित प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरी बजारमा पठाउने गरिएको छ ।
नेपाल बायो कम्पोष्टका अध्यक्ष यामबहादुर थापाका अनुसार कम्पनीले पछिल्लो एक वर्षदेखि मासिक करिब १० टन जैविक मल उत्पादन गर्दै आएको छ । उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बजारमा बिक्री वितरण भइरहेको छ । यसले कृषि क्षेत्रमा जैविक मलको प्रयोग विस्तार गर्न र रासायनिक मलमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीले दैनिक करिब ३२ हजार लिटर शौचालयजन्य फोहोर संकलन तथा व्यवस्थापन गर्दै आएको जनाएको छ । यसका लागि रामनगर सामुदायिक वनसँग सम्झौता गरी २०७८ सालदेखि परियोजना सञ्चालन गरिएको हो । तत्कालीन अध्यक्ष क्याप्टेन किशन थापाको कार्यकालमा सामुदायिक वनको साधारणसभाबाट निर्णय भएपछि परियोजना अघि बढाइएको थियो ।
तीन वर्षका लागि गरिएको सम्झौताअनुसार कम्पनीले सामुदायिक वनलाई मासिक ३५ हजार रुपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत उपलब्ध गराउने सहमति गरेको थियो । पाँच कठ्ठा क्षेत्रफलमा सञ्चालन भइरहेको परियोजनामा एक लाख लिटर क्षमताको ट्रिटमेन्ट प्लान्टसमेत निर्माण गरिएको छ ।
अध्यक्ष थापाका अनुसार प्लान्ट निर्माणमा करिब तीन करोड रुपैयाँ र सडक निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको छ । कोभिड महामारीका कारण भएको बन्दाबन्दीले परियोजना सञ्चालनमा विभिन्न समस्या उत्पन्न भए पनि अहिले यसलाई उद्योगका रूपमा स्थापित गर्दै लगिएको उनले बताए । परियोजनाबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै फोहोर व्यवस्थापनमा नयाँ अभ्याससमेत सुरु भएको उनको भनाइ छ ।
जैविक मल उत्पादनसँगै परियोजनाले वन संरक्षणमा पनि योगदान पुर्याएको बताइएको छ । वन क्षेत्रमा जथाभावी फोहोर फाल्ने तथा आगलागीको जोखिम बढाउने गतिविधि नियन्त्रणमा सहयोग पुगेको कम्पनीको भनाइ छ । वन क्षेत्रमा संकलित जैविक पदार्थलाई समेत मल उत्पादनमा उपयोग गरिएकाले फोहोरको पुनःप्रयोग र वन संरक्षणलाई एकसाथ अघि बढाउने प्रयास गरिएको छ ।
यद्यपि, परियोजना सञ्चालनमा नीतिगत तथा कानुनी चुनौती भने कायमै छन् । राष्ट्रिय वन अनुसन्धानअन्तर्गतको क्षेत्रमा सञ्चालन भइरहेको परियोजनामा भोगाधिकार तथा जग्गा व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नहुँदा दीर्घकालीन सञ्चालनमा समस्या देखिएको अध्यक्ष थापाले बताए ।
स्थानीय सरकारले गर्नुपर्ने शौचालयजन्य फोहोर व्यवस्थापनको काम निजी क्षेत्रले लगानी र प्रयासमार्फत गरिरहेको अवस्थामा यस्ता परियोजनालाई राज्यका तर्फबाट नीतिगत सहजीकरण र प्रोत्साहन आवश्यक देखिएको छ ।
फोहोरलाई समस्या नभई स्रोतका रूपमा उपयोग गर्न सकिने उदाहरण नेपाल बायो कम्पोष्टको यो प्रयासले प्रस्तुत गरेको छ । उचित सरकारी नीति, प्राविधिक सहयोग र बजार व्यवस्थापन हुन सके यस्ता परियोजनाले सहरी फोहोर व्यवस्थापनसँगै वातावरण संरक्षण, रोजगारी सिर्जना र दिगो कृषि प्रणालीको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने देखिन्छ ।
















प्रतिक्रिया