भोजपुर । खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु पाल्ने परम्परागत चलन घट्दै गएको छ । खेतीपातीका लागि गोरुमा निर्भर किसान पछिल्लो समय कृषि उपकरणको प्रयोगतर्फ आकर्षित भएपछि गोरुपालन घट्न थालेको हो ।
विगतमा खेतीपाती गर्ने प्रायः प्रत्येक किसान परिवारले एक हल गोरु पाल्ने गर्थे । खेत जोत्न, माटो सम्याउनलगायत कृषि कार्यमा गोरुको प्रयोग हुन्थ्यो । तर, हातेट्रयाक्टरबाट कम समय र श्रममा खनजोत गर्न सकिने भएपछि किसानले गोरु पाल्न छाड्दै गएका छन् ।
टेम्केमैयुङ गाउँपालिका-५ का गणेश विष्टका अनुसार गोरुले एक दिन लगाउने खेतबारीको खनजोत हातेट्रयाक्टरबाट तीनदेखि चार घण्टामै गर्न सकिन्छ । परम्परागत रूपमा गोरुबाट खेत जोत्दा धेरै समय र श्रम खर्चिनुपर्ने भए पनि हातेट्रयाक्टरबाट छिटो काम सकिने उनले बताए । “समय र श्रम दुवै बचत हुने भएकाले अहिले किसानको रोजाइ हातेट्रयाक्टर बनेको छ”, उनले भने ।
टेम्केमैयुङ गाउँपालिका-४ नागीका रामकुमार राईले पनि हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घटेको बताए । विगतमा खेतीपातीका लागि प्रायः प्रत्येक घरमा एक हल गोरु हुने गरेकामा अहिले अधिकांश किसानले पाल्न छाडेको उनको भनाइ छ ।
“पहिले गाउँमा गोरु नपाल्ने घर कमै हुन्थे । खेतीपातीका लागि गोरु अनिवार्यजस्तै थियो”, उनले भने, “अहिले हातेट्रयाक्टरले खेतबारी जोत्न थालेपछि गोरु पाल्ने चलन निकै घटेको छ ।”
खेतीपातीमा परिवारका सदस्यको जनशक्ति कम हुँदै गएको अवस्थामा कृषि उपकरण उपयोगी बनेको किसान एकराज विष्टले बताए । हातेट्रयाक्टरको प्रयोगले खनजोतका लागि गोरुमाथिको निर्भरता घट्नुका साथै पशुपालनमा खर्चिनुपर्ने समय र श्रमसमेत बचत भएको उनको भनाइ छ । वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवाशक्ति बाहिरिने क्रम बढ्दा खेतीपातीमा जनशक्तिको अभाव हुने गरेको उनले बताए ।
किसानको माग र आवश्यकताअनुसार स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयले अनुदानमा हातेट्रयाक्टर वितरण गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाले पनि किसानलाई हातेट्रयाक्टर वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
किसानबाट हातेट्रयाक्टरको माग बढी आउने गरेको उल्लेख गर्दै उनले गत वर्ष गाउँपालिकामार्फत ३६० वटा हातेट्रयाक्टर वितरण गरिएको जानकारी दिए । कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानको मागअनुसार कृषि उपकरण वितरण गर्दै आएको उनले बताए ।
कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा परम्परागत खेती प्रणालीमा पनि परिवर्तन आउन थालेको अध्यक्ष राईको भनाइ छ । विगतमा गोरुमा आधारित खेती प्रणाली अहिले क्रमशः कृषि उपकरणमा आधारित हुँदै गएको र यसले ग्रामीण कृषि जीवनशैलीमा समेत प्रभाव पारेको अध्यक्ष राई बताउँछन ।
हातेट्रयाक्टरको प्रयोगले खेतीपातीमा सहजता थपिए पनि यसको सञ्चालनका लागि इन्धन, मर्मतसम्भार र प्राविधिक ज्ञान आवश्यक पर्ने पौवादुङमा गाउँपालिका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए । कृषि उपकरणको उचित व्यवस्थापन र मर्मतसम्भारमा किसानले ध्यान दिनुपर्ने उनको सुझाव छ । गाउँपालिकाले किसानलाई हातेट्रयाक्टर मर्मतसम्भारसम्बन्धी तालिमसमेत दिँदै आएको उनले जानकारी दिए ।
कृषिमा आधुनिक उपकरणको प्रयोग विस्तार हुँदै जाँदा पुस्तौँदेखि चल्दै आएको गोरु पाल्ने परम्परा भने क्रमशः कमजोर बन्दै गएको छ ।
















प्रतिक्रिया