बुटवल । गुल्मीको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित प्रथम गुल्मी चारपाला दरबार फुटसल प्रतियोगिता-२०८३ आयोजना हुने भएको छ ।
‘हाम्रो जिल्ला, हाम्रो पहिचान, हाम्रो गौरव-गुल्मी’ भन्ने नारासहित गुल्मी चारपाला दरबार फुटसल समूहको आयोजनामा आगामी मंसिर १२ र १३ गते प्रतियोगिता सञ्चालन हुन लागेको हो । तिलोत्तमा नगरपालिकास्थित जानकीनगरको मोनालिसा फुटसल मैदानमा प्रतियोगिता आयोजना हुनेछ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष दिलीप कँडेलले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । गुल्मी जिल्लाको ऐतिहासिक पहिचानसँग जोडिएको चारपाला दरबार तत्कालीन गुल्मी राज्यको राजधानीका रूपमा परिचित रहेको उल्लेख गर्दै उनले यसको ऐतिहासिक विरासत नयाँ पुस्तामाझ चिनाउने र खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
फुटसल खेलमा मात्र सीमित नभई युवालाई एकताबद्ध गर्दै गुल्मीको ऐतिहासिक धरोहर, कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने अभियानका रूपमा प्रतियोगितालाई अघि बढाइएको अध्यक्ष कँडेलको भनाइ छ । प्रतियोगितामा उपाधिका लागि २० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद ३० हजार ३३ रुपैयाँसहित ट्रफी पाउनेछ ।
प्रतियोगिता सम्पन्न गर्न युवा विवेक रायमाझीसहित देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । यसैबीच प्रतियोगिताको टाइसिटसमेत शुक्रबार सार्वजनिक गरिएको छ । शनिबार हुने उद्घाटन खेलमा मोहन एफसी ‘ए’ र लाखे एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
















प्रतिक्रिया